Nepal Purbadhar

त्रिशुली थ्री ए को भुमीगत पावर हाउसमा प्राधिकरणका ३५ कर्मचारी थुनिए, उद्दार हुन नसक्दा जीवन जोखिममा


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका ३५ जना कर्मचारी त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत पावर हाउसमा थुनिएका छन्। टर्बाइन ओभरहोलिङ (मर्मत) का लागि पावर हाउसमा गएका उनीहरू भोटेकोसीमा आएको भयावह बाढीका कारण भित्रै फसेका हुन्।
बाढीका कारण पावर हाउस पुरिएपछि उनीहरू भूमिगत संरचनाभित्रै थुनिएको प्राधिकरण स्रोतले जनाएको छ। प्राधिकरणले देशभरिका विज्ञ तथा प्राविधिकको टोलीलाई टर्बाइन ओभरहोलिङका लागि आयोजनामा खटाएको थियो।
प्राधिकरणका एक इन्जिनियरका अनुसार भूमिगत पावर हाउस दुई तले रहेको छ। “भित्र उहाँहरू कहाँ हुनुहुन्छ भन्ने यकिन छैन,” ती इन्जिनियरले भने, “सकुशल उद्धारको कामना गरौँ।”
प्राधिकरणकी इन्जिनियर आशा खनालले अवस्था अत्यन्त भयावह रहेको बताएकी छन्। उनका अनुसार त्रिशूली–३ ‘ए’ को पावर हाउस र सुरुङभित्र ३५ जना सहकर्मी थुनिएका छन्।
“त्रिशूली थ्री ‘ए’ को पावर हाउस र सुरुङभित्र ३५ जना सहकर्मी थुनिएर जीवन–मरणको दोसाँधमा हुनुहुन्छ। सुरुङभित्र अक्सिजनको कमी र बढ्दो जोखिमका कारण हरेक सेकेन्ड महत्त्वपूर्ण छ,” उनले भनिन्।
उनले उद्धार कार्यमा ढिलाइ भए मानवीय क्षति हुनसक्ने भन्दै सुरुङभित्र प्रवेश गरेर उद्धार गर्न सक्ने विशेषज्ञ टोली तत्काल पठाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेकी छन्।
“ढिला भए मानवीय क्षति हुनेछ। सुरुङभित्र जान सक्ने विशेषज्ञ टोली चाँडो पठाउनुपर्‍यो,” खनालले भनिन्।


Read Previous

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar