
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि ५ करोड ५ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
इप्पानको भदौ ११ गते बसेको २०६औँ आकस्मिक कार्यसमिति बैठक तथा सल्लाहकारसहितको संयुक्त बैठकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।
इप्पानले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँलगायत जिल्लामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।
बाढीबाट सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा पुगेको क्षतिप्रति पनि इप्पानले दुःख व्यक्त गरेको छ। बाढीमा ज्यान गुमाएका आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको उपचार तथा प्रभावित आयोजनाको पुनर्निर्माण र पुनःस्थापनामा सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने निर्णय बैठकले गरेको छ।
इप्पान अध्यक्ष मोहनकुमार डाँगीका अनुसार उपयुक्त समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा सहयोग रकमको चेक हस्तान्तरण गरिनेछ।
डाँगीले ऊर्जा क्षेत्र देशको समृद्धिसँग मात्रै नभई नेपाली जनताको सुख–दुःखसँग समेत जोडिएको उल्लेख गर्दै विपद्को समयमा सदस्य कम्पनीहरू एकजुट भएर पीडित परिवारलाई सहयोग गर्नुपर्ने बताए।
इप्पानले आफ्ना सम्पूर्ण सदस्य कम्पनीहरूलाई पनि राहत तथा पुनःस्थापनाको मानवीय अभियानमा सक्रिय र उदार सहयोग गर्न आग्रह गरेको छ।

