Nepal Purbadhar

नुवाकोटमा ७ मेगावाट विद्युत् आपूर्ति, अस्पताल र खानेपानी सञ्चालनमा सहज हुने अपेक्षा


काठमाडौं । बाढीका कारण विद्युत् आपूर्ति प्रभावित भएको नुवाकोटमा नेपाल विद्युत् प्राधिकरणले विभिन्न स्रोतबाट करिब ७ मेगावाट विद्युत् उपलब्ध गराएको छ। वैकल्पिक प्रणालीमार्फत विद्युत् आपूर्ति सुचारु गरिएपछि जिल्लाका अत्यावश्यक सेवा सञ्चालनमा सहज भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार काठमाडौंको चपली सबस्टेसनबाट २ मेगावाट, सिन्धुपाल्चोकको इन्द्रावतीबाट १ मेगावाट, समुन्द्रटार सबस्टेसन नजिकैको तादी जलविद्युत् केन्द्रबाट २ मेगावाट र बालाजु सबस्टेसनदेखि त्रिशूलीसम्मको प्रणालीमार्फत थप २ मेगावाट विद्युत् नुवाकोटमा पठाइएको छ।

हाल आपूर्ति भइरहेको ७ मेगावाट विद्युत्ले नुवाकोटको तत्कालीन माग धान्न सक्ने श्रेष्ठले बताए। सामान्य अवस्थामा जिल्लामा करिब १० मेगावाट विद्युत् खपत हुने भए पनि अहिलेको आपूर्तिबाट अस्पताल, खानेपानी, दूरसञ्चारलगायत अत्यावश्यक सेवा सञ्चालनमा तत्काल समस्या नहुने उनको भनाइ छ।

विद्युत्को माग बढ्दै गएमा थप आपूर्ति गर्न सकिने गरी प्राधिकरणले आवश्यक तयारीसमेत गरेको छ।

बाढीका कारण विभिन्न विद्युत् गृह तथा संरचनामा क्षति पुग्दा १० प्रतिशतभन्दा बढी विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको अवस्थामा समेत देशभरको विद्युत् आपूर्ति प्रणालीलाई स्थिर राख्न प्राधिकरण सफल भएको श्रेष्ठले बताए।

बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःस्थापना तथा वैकल्पिक प्रणालीबाट विद्युत् आपूर्ति विस्तार गर्ने कामलाई प्राधिकरणले निरन्तरता दिएको जनाएको छ।


Read Previous

कर्मचारीको तलब कटाएर विपद् कोषमा जम्मा गरिने, बिदामा पनि कडाइ

Read Next

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष: पछिल्लो ६ घण्टामा २७ करोड ३३ लाख जम्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar