
काठमाडौं । आज बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि विभिन्न १० ओटा निर्णय गरेको छ।
बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोख्रेलले रसुवाको रसुवागढी र तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको उल्लेख गरे।
मन्त्रिपरिषद्का निर्णयहरू यस्ता छन् :
१. बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्ने। घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने।
२. घाइतेको तत्काल निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले मिलाउने।
३. घाइते तथा बिचल्लीमा परेकाको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने। यसका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर परिचालन गर्ने र उद्धारमा आवश्यक सबै साधन परिचालन गर्न गृहमन्त्रीलाई निर्देशन दिने।
४. घर तथा निवास गुमाएकालाई सुरक्षित स्थानमा सारी खाने–बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित समितिले मिलाउने।
५. बाढीबाट अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउने तथा प्रभावित क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र गर्ने जिम्मेवारी पूर्वाधार विकास मन्त्रालयलाई दिने।
६. बाढीका कारण अवरुद्ध विद्युत् आपूर्ति यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले मिलाउने।
७. अवरुद्ध दूरसञ्चार सेवा तत्काल सञ्चालन गर्ने व्यवस्था सूचना तथा सञ्चार मन्त्रालयले मिलाउने।
८. बाढीमा मृत्यु भएकाका परिवारलाई प्रचलित कानुनबमोजिमको आर्थिक सहायता तत्काल उपलब्ध गराउने।
९. क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधार तत्काल सञ्चालन तथा पुनर्निर्माण गर्न आवश्यक आर्थिक स्रोत परिचालनको समन्वय गर्ने जिम्मेवारी अर्थमन्त्रीलाई दिने।
१०. विपद्बाट प्रभावित जिल्लाका स्थानीय तहलाई ३ महिनाका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने।
