
काठमाडौं। काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६ मा भारी वर्षाका बाबजुद पनि अवलोकनकर्ताको घुइँचो लागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पोको तेस्रो दिन बिहीबार पनि उल्लेख्य संख्यामा अवलोकनकर्ता पुगेका छन्।
आयोजकका अनुसार तीन दिनमा ६६ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरिसकेका छन्। पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढी अवलोकनकर्ता एक्स्पोमा पुगेका छन्। आयोजकले एक्स्पो अवधिभर करिब डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको छ।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। नयाँ-नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्दै विभिन्न कम्पनीले अवलोकनकर्तालाई आफ्नो स्टलमा आकर्षित गरिरहेका छन्। विकल्प धेरै भएकाले ग्राहकलाई आफूले चाहेको सवारीसाधन छनोट गर्न सहज भएको आयोजकको भनाइ छ।
महँगा गाडीमा पनि आकर्षण
ललितपुरको भैँसेपाटीका अवलोकनकर्ता विक्रम सुवेदीले एक्स्पोमा आफ्नो बजेटअनुसारका सवारीसाधन उपलब्ध रहेको बताए।
“१६-१७ लाखदेखि ३ करोडभन्दा बढी मूल्यका चार पाङ्ग्रे सवारीसाधन प्रदर्शनीमा राखिएका रहेछन्,” उनले भने, “जस्तो खोजी छ, त्यस्तै कार चढ्न पाउनु पनि राम्रो कुरा हो।”
दुई पाङ्ग्रे सवारीसाधनका स्टलमा पनि उल्लेख्य भीड देखिएको छ। विशेषगरी महँगा ब्रान्डका मोटरसाइकलमा युवाको आकर्षण बढी देखिएको आयोजकले जनाएको छ।
नयाँ सवारीसाधन र प्रविधिमा चासो
अवलोकनकर्ताले नाइमा एक्स्पोलाई आफ्नो क्षमताअनुसारको सवारीसाधन छनोट गर्ने अवसरका रूपमा लिएका छन्। उनीहरूले विशेषगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, बिक्रीपछिको सेवा, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र पुनर्बिक्री मूल्यलगायतका विषयमा चासो राखेका छन्।
ग्राहक आकर्षित गर्न कम्पनीहरूले विभिन्न छुट तथा सुविधा पनि सार्वजनिक गरेका छन्। मूल्यमा छुट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ तथा न्यून ब्याजदरमा कर्जालगायतका सुविधा दिइएको छ।
एक्स्पोमा हालसम्म विभिन्न ब्रान्डले ५२ ओटा नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन्।
‘मोबिलिटी संवाद’ मा अटो फाइनान्सिङबारे छलफल
नाइमा एक्स्पोअन्तर्गत बिहीबार ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयमा नाइमा मोबिलिटी संवाद आयोजना गरिएको थियो।
उद्यमी एवं वित्तीय साक्षरता विज्ञ संजोग कोइरालाले सहजीकरण गरेको संवादमा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदी, ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत राजा अर्याल, एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुर प्यानलिस्टका रूपमा सहभागी थिए।
बुधबारको ‘लर्निङ सेसन’ मा ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयमा छलफल गरिएको थियो। एक्स्पोको पहिलो दिन ‘लगानी तथा प्रत्यक्ष वैदेशिक लगानी : आर्थिक वृद्धिका लागि इन्धन परिचालन’ विषयमा छलफल भएको थियो।
एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुने आयोजकले जनाएको छ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता तथा आयातकर्ताको उल्लेख्य सहभागिता छ।
एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षण बनेका छन्।
एक्स्पोमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले पनि सवारीसाधन खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन्। ग्लोबल आइएमई बैंक को-स्पोन्सर तथा रेडबुल पावर ब्रान्ड पार्टनरका रूपमा सहभागी छन्। एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनरका रूपमा रहेका छन्।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनी इन्स्योरेन्स पार्टनर, बोस्च टेक्नोलोजी पार्टनर तथा ग्लोबल कलेज र एभरेस्ट कलेज एजुकेसन पार्टनरका रूपमा रहेका छन्।


