
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर नगरपालिका तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
प्रधानमन्त्री शाह पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित बिहीबार बिहान ९:३० बजे सडकमार्ग हुँदै नुवाकोट पुगेका थिए। प्रभावित बस्तीको भौतिक अवस्था र बाढीबाट भएको क्षतिको अवलोकन गरेपछि प्रधानमन्त्रीको टोली काठमाडौं फर्किएको छ।
भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय बैठकमार्फत सम्बन्धित निकायलाई निर्देशन दिँदै आएका थिए। त्यसैक्रममा उनले विदुर तथा आसपासका प्रभावित क्षेत्रको प्रत्यक्ष निरीक्षण गरेका हुन्।
भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट क्षतिग्रस्त सडक, बस्ती तथा अन्य पूर्वाधारको अवस्थाबारे जानकारी लिएको थियो। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग पनि बाढीपछिको अवस्था र उद्धार तथा राहतका विषयमा छलफल गरिएको थियो।
प्रधानमन्त्री शाहले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको काम अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।
स्थलगत निरीक्षणपछि प्रधानमन्त्रीको टोली बिहीबार नै काठमाडौं फर्किएको हो।
