
त्रिशूली (नुवाकोट)। भोटेकोशीमा आएको बाढीमा परी तीन जनाको मृत्यु भएको छ। त्रिशूली नदी किनारबाट तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीका अनुसार त्रिशूली नदी किनारको सिमचउरबाट २ ओटा र कोल्पुटारबाट १ ओटा शव फेला परेको हो। फेला परेका शवको पहिचान भने हुन सकेको छैन।
बाढीमा फसेका ५ जनालाई उद्धार गरिएको छ। उद्धार गरिएकालाई विदुर नगरपालिका–४ स्थित चक्रदेव अस्पतालमा लगिएको छ।
बाढीका कारण सडक तथा पुल बगाएपछि त्रिशूली अस्पतालसँगको सडक सम्पर्क विच्छेद भएको प्रहरी प्रमुख रेग्मीले जानकारी दिएका छन्।

