Nepal Purbadhar

लाङटाङ जलविद्युत् आयोजना सुरुङमा २५ भन्दा बढी मजदुर फसे, मानविय उद्धार पहिलो- इप्पान


काठमाडौं। रसुवास्थित लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा २५ भन्दा बढी मजदुर फसेका छन्। २० मेगावाट क्षमताको आयोजनाको सुरुङमा काम गरिरहेका मजदुर बाढीपछि फसेका हुन्।

आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का सचिव विजयमोहन भट्टराईका अनुसार नदीको सतहभन्दा करिब १ सय मिटरमाथि रहेको सुरुङमा काम गरिरहेका मजदुर फसेका छन्। उनीहरूसँग मोबाइल सम्पर्कसमेत हुन नसकेको उनले बताएका छन्।

भट्टराईका अनुसार आयोजनामा करिब ६० जना मजदुर काम गरिरहेका थिए। उनीहरूमध्ये सबैको अवस्थाबारे पूर्ण जानकारी प्राप्त हुन सकेको छैन।

आयोजनाको हेडवर्क्समा काम गरिरहेका कर्मचारी भने सुरक्षित रहेको जानकारी प्राप्त भएको उनले बताएका छन्। अन्य मजदुरको अवस्था बुझ्ने प्रयास भइरहेको छ।

इप्पान अध्यक्ष मोहन डाँगीका अनुसार अहिले मानवीय क्षति कति भयो, कुन–कुन ठाउँमा कति मानिस थिए भन्ने विवरण खोजिरहेको छ।
“अहिले सबैभन्दा पहिलो कुरा मानवीय क्षति कति भयो भन्ने हो। हामीले बेपत्ता भएका, सम्पर्कमा आएका र कुन–कुन ठाउँमा कति मानिस थिए भन्ने विवरण खोजिरहेका छौँ। अब तत्काल सबैभन्दा पहिलो प्राथमिकता उद्धार हो। उद्धार गर्नुपर्ने ठाउँमा परेका मानिसहरूको उद्धारमा हामी पहिले लागेका छौँ,” उनले भने।

त्यसपछि क्रमशः क्षतिको विवरणमा जाने बताउँदै डाँगीले अहिले केही ठाउँमा धेरै ठूलो भौतिक क्षति भएको बताए । सडक, बाटो र अन्य संरचनामा पनि क्षति पुगेको छ। त्यसको विवरण संकलन गर्ने काम भइरहेको बताए।

“अहिले खोलामा पानीको बहाव अत्यन्तै ठूलो छ। अवस्था निकै खराब छ। बाढीले धेरै ठाउँमा क्षति पुर्‍याएको छ।”


Read Previous

आकस्मिक मन्त्रिपरिषद् बैठक: के छन् निर्णय ?

Read Next

बाढीपछि पृथ्वी राजमार्गको बैरेनी सडकखण्ड पूर्ण रूपमा बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar