Nepal Purbadhar

भोटेकोशी बाढी : जलविद्युत आयोजनामा दर्जनौं सम्पर्कविहीन, सयौं उद्धारको पर्खाइमा


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जिल्लाका विभिन्न जलविद्युत आयोजनामा कार्यरत दर्जनौँ कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् । कतिपय आयोजनामा सयौँ कर्मचारी तथा कामदार सुरक्षित स्थानमा उद्धारको पर्खाइमा रहेको सूचना प्राप्त भएको छ ।

माथिल्लो त्रिशूली–१ का ७६ जना सम्पर्कविहीन

निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन भएका छन् । उनीहरूमध्ये करिब आधा नेपाली र आधा विदेशी नागरिक रहेको बताइएको छ ।

आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना पनि सम्पर्कविहीन छन् । उनीहरूमध्ये आयोजनामा कार्यरत आठ जना कोरियन नागरिक रहेको जानकारी प्राप्त भएको छ ।

त्यस्तै, आयोजनाको परामर्शदाता जेड कन्सल्ट र लामा जेभियर्स जेभीका सात जना पनि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको छ ।

आयोजनाको हेडवर्क्स क्षेत्रमा १२ जना तथा पावरहाउस क्षेत्रमा २०० भन्दा बढी कर्मचारी तथा कामदार उद्धारको पर्खाइमा रहेको बताइएको छ । आयोजना स्थलबाट पहिलो चरणको उद्धार भएको भन्ने सूचना आए पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

रसुवागढीका ५१ जना सम्पर्कविहीन

१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । तिमुरे क्षेत्रमा रहेका तीन जनाले अग्लो स्थानमा पुगेर ज्यान जोगाएको बताइएको छ ।

बाढीका कारण सञ्चार सम्पर्क अवरुद्ध भएकाले आयोजनामा रहेका अन्य व्यक्तिहरूसँग अहिलेसम्म सम्पर्क स्थापित हुन नसकेको जनाइएको छ ।

मैलुङ खोलाका ८ कर्मचारीको अवस्था अज्ञात

५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृहमा कार्यरत आठ जना कर्मचारी बुधबारदेखि नै सम्पर्कविहीन छन् । उनीहरूको अवस्थाबारे जानकारी लिन हेलिकप्टर व्यवस्थापन गरी आयोजनास्थलको अवलोकन तथा उद्धारको प्रयास भइरहेको छ ।

रसुवा भोटेकोशीमा दुई जना बेपत्ता

१२० मेगावाटको रसुवा भोटेकोशी जलविद्युत आयोजनामा सिभिल ठेकेदार सिनो हाइड्रोका दुई जना सम्पर्कविहीन छन् ।

त्यहाँ कार्यरत पाँच जना भने नजिकैको गाउँमा शरण लिएर बसेका छन् । उनीहरूमध्ये तीन जना चिनियाँ र दुई जना नेपाली नागरिक रहेको बताइएको छ । उनीहरू पनि उद्धारको पर्खाइमा छन् । हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको जनाइएको छ ।

लाङटाङ खोलाका ६० जनासँग सम्पर्कविहीन

२० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा सुरुङभित्र थुनिएर सम्पर्कविहीन भएका ६० जनाको अवस्था अझै अज्ञात छ । उनीहरूमध्ये २५ जना स्टाफ र ३५ जना कामदार रहेको बताइएको छ ।

आयोजना विकासकर्ता कम्पनीका प्रतिनिधिहरू आयोजनास्थल पुगेर उद्धारको प्रयास अघि बढाए पनि अहिलेसम्म हेलिकप्टरको व्यवस्था हुन नसकेको जनाइएको छ ।

भोटेकोशीमा आएको बाढीले रसुवाका जलविद्युत आयोजना तथा आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि सम्पर्कविहीन तथा उद्धारको पर्खाइमा रहेका कर्मचारी र कामदारको यकिन विवरण संकलन तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । अहिले प्राथमिकता प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा सञ्चार सम्पर्क स्थापित गर्नु रहेको छ ।

नोट: माथिका सम्पर्कविहीन तथा उद्धारसम्बन्धी विवरणहरू प्राप्त सूचनामा आधारित छन् । उद्धार कार्य जारी रहेकाले संख्या र अवस्थाबारे थप विवरण आउन सक्नेछ।


Read Previous

कामना सेवा विकास बैंक र कर्मचारीले बाढी प्रभावितका लागि दिए २५ लाख

Read Next

कालिका कन्स्ट्रक्सनका अध्यक्ष बिक्रम पाण्डेले राहत कोषमा १ करोड १ लाख दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar