Nepal Purbadhar

मार्तडी-कोल्टी २६ किलोमिटर कालोपत्रेको काम अधुरै, कालोपत्र हुनुपर्ने सडक २७ वर्षदेखि अलपत्र


बाजुरा। बाजुराका प्रदेश गौरवका आयोजना मार्तडी-कोल्टी र खप्तड-डोगडी-मार्तडी सडक निर्माण सुरु भएको २७ वर्ष बितिसक्दा पनि पूरा हुन सकेका छैनन्। विसं २०५६ देखि निर्माण सुरु भएका यी सडकमा ठेकेदारको ढिलासुस्तीका कारण कामले गति लिन नसक्दा आयोजना अलपत्र बनेका हुन्।

सडक निर्माण तथा स्तरोन्नतिका लागि हरेक वर्ष बजेट विनियोजन हुँदै आए पनि समयमै काम नहुँदा विनियोजित रकम खर्च हुन नसकी फिर्ता जाने गरेको छ। पूर्वाधार विकास कार्यालय, अछामका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै यी दुई सडकका लागि विनियोजन भएको रु ३३ करोड ५० लाख काम हुन नसकेर फिर्ता गएको छ।

कार्यालय प्रमुख जङ्गबहादुर थापाका अनुसार मार्तडी-कोल्टी सडकका लागि रु २० करोड र खप्तड-जयबागेश्वरी-गैरीखाद-डोगडी-आटीचौर हुँदै मार्तडी जोड्ने सडकका लागि रु १३ करोड ५० लाख बजेट विनियोजन भएको थियो। तर, ठेकेदारले पर्याप्त काम नगरेपछि रकम खर्च हुन सकेन।

“गत वर्ष मात्र होइन, अघिल्ला वर्षमा समेत ठेकेदारको ढिलासुस्तीका कारण बजेट फिर्ता हुने गरेको छ,” थापाले भने।

आर्थिक वर्ष २०८१/८२ मा मार्तडी-कोल्टी सडकका लागि रु १५ करोड बजेट विनियोजन गरिएको थियो। त्यस्तै, खप्तड-जयबागेश्वरी-गैरीखाद-डोगडी-आटीचौर हुँदै मार्तडी जोड्ने सडकका लागि रु १६ करोड ५० लाख विनियोजन गरिएको थियो।

२०७८ चैत १६ गते ठेक्का सम्झौता गरेको के.एस.एम.के.बी.सी./तेज जेभी, धनगढी, कैलालीले आर्थिक वर्षभरिमा करिब रु २ करोड ५० लाख बराबरको मात्र काम गरेपछि बाँकी बजेट फिर्ता भएको कार्यालयले जनाएको छ।

२६ किलोमिटर कालोपत्रेको काम अधुरै

मार्तडी-कोल्टी सडकअन्तर्गत चुथीदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक कालोपत्रे गर्न २०७७ असारमा ठेक्का सम्झौता भएको थियो। पीएस बानियाँ निर्माण सेवाले रु ५० करोड १७ लाखमा ठेक्का पाएको थियो। सम्झौताअनुसार तीन वर्षभित्र काम सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म सडकको काम पूरा भएको छैन।

मार्तडी-कोल्टी र खप्तड-डोगडी-मार्तडी सडकको कुल लम्बाइ ४१ किलोमिटर रहेको छ। उक्त सडक निर्माणका लागि रु ९८ करोड लागतमा टेन्डर आह्वान गरिएको थियो। हालसम्म करिब ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ।

४१ किलोमिटरमध्ये मार्तडीदेखि ढम्कनेसम्म १५ किलोमिटर सडक रहेको छ। उक्त खण्ड कालोपत्रेका लागि रु ५८ करोड बजेट विनियोजन गरिएको थियो। पहिलो खण्डअन्तर्गत मार्तडीदेखि चुथीसम्मको नौ किलोमिटर सडकमा धेरैजसो काम सम्पन्न भए पनि चुथीदेखि ढम्कनेसम्मको ६ किलोमिटर सडक कालोपत्रेको काम अझै अधुरो रहेको छ।

वर्षौंसम्म आयोजना सम्पन्न नहुँदा बाजुराका स्थानीयले सहज यातायात सेवाबाट वञ्चित हुनुका साथै हरेक वर्ष सडकका लागि छुट्याइएको ठूलो रकमसमेत खर्च हुन नसकी फिर्ता जाने अवस्था देखिएको छ।


Read Previous

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य, पूरा होला?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar