Nepal Purbadhar

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट


काठमाडौं। प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्। भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन्। पाँच सदस्यीय भ्रमण टोलीमा उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छन्।

सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उनलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिएको हो।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहँदै आएको छ।

सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा आपसी हितका विषयका साथै नेपाल-भारतबीचको द्विपक्षीय सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो।

त्यस अवसरमा सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य उपकरणसमेत हस्तान्तरण गरेका थिए। उनले मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गरेका थिए।

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस्तो भ्रमणले नेपाल र भारतबीचको सैनिक सम्बन्धलाई थप विस्तार र प्रगाढ बनाउन सहयोग पुग्ने नेपाली सेनाले जनाएको छ।

सेनाध्यक्ष सेठ बुधबार स्वदेश फर्कने कार्यतालिका रहेको छ।


Read Previous

भदौ ९ देखि १४ गतेसम्म १८औं नाडा अटो शो २०२६ हुने

Read Next

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य, पूरा होला?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar