Nepal Purbadhar

बम्पर उपहारको पहिलो विजेता बने २५० को सामान किन्ने उपभोक्ता, पाउनेछन् ७ लाख ५० हजार


काठमाडौं। सरकारले सञ्चालनमा ल्याएको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत पहिलोपटक १० लाख रुपैयाँको बम्पर उपहार विजेता घोषणा गरेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले बम्पर उपहार जितेका हुन्।

आन्तरिक राजस्व विभागले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा कार्यक्रममार्फत विजेताको घोषणा गरेको हो। विभागका अनुसार ००७३१५२५४४९३ कुपन नम्बर भएका उपभोक्ता बम्पर उपहारका विजेता बनेका छन्।

विभागका अनुसार ती उपभोक्ताले साउन ७ गते शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका थिए। उक्त खरिदको बिल करदाता प्रोत्साहन उपहार कार्यक्रममा समावेश भएपछि उनी बम्पर उपहारका लागि छनोट भएका हुन्।

यद्यपि पुरस्कार रकमबाट २५ प्रतिशत कर कट्टी हुने भएकाले विजेताले ७ लाख ५० हजार रुपैयाँ मात्रै हात पार्नेछन्। विभागले विजेताको थप पहिचान प्रक्रिया अघि बढिरहेको जनाएको छ।

१५ जनाले पाए १ लाख ३३ हजार ३३४ रुपैयाँ

बम्पर उपहारसँगै विभागले १५ जना अन्य विजेताको पनि घोषणा गरेको छ। ००७७५५५८०६७०, ०१५६११०५८०७५, ०१२२५८०८६५८८, ०१४९७३९०७३३, ००६८४१५५३५३७, ००२९२८८१७८११, ००९८९१७८३३२४५, ००४७८०८४०८८४, ०१०८३७१८०३३२, ००५५८८५०६०८५, ००३००६७७८५८९, ००८७८२४८६३३५, ०१३०३५२३०२९७, ००१८०८९६५९८६ र ०११३८०९१४५८० कुपन नम्बर भएका १५ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार जितेका छन्।

कर कट्टापछि उनीहरूले १ लाख रुपैयाँ प्राप्त गर्ने विभागले जनाएको छ।

बिल माग्ने संस्कार विकास गर्ने सरकारको उद्देश्य

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा गरेको हो। उपभोक्तालाई बिल लिन, व्यवसायीलाई बिल काट्न र विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्दै कर चुहावट नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो।

पहिलो चरणमा साउन १ देखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका उपभोक्तामध्ये विजेता छनोट गरिएको विभागले जनाएको छ।

अब प्रत्येक महिनाको १६ गते (१–१५ गतेसम्मको कारोबार) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबार) नियमित रूपमा उपहार घोषणा गरिनेछ।

कसरी सहभागी हुने?

बैंक वा डिजिटल वालेटमार्फत क्यूआर कोड प्रयोग गरी भुक्तानी गरेर सामान वा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुन्छन्।

नगदमा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा बिलको विवरण अपलोड गरी कुपन लिनुपर्ने व्यवस्था छ। पुरस्कार दाबी गर्दा मूल बिल सुरक्षित राख्नुपर्ने विभागले जनाएको छ।

सरकारले आर्थिक वर्षभर करिब ७ करोड २५ लाख रुपैयाँ बराबरका पुरस्कार वितरण गर्ने लक्ष्य राखेको छ। यसअन्तर्गत करिब ३९० जना उपभोक्ता पुरस्कारका लागि छनोट हुने अनुमान गरिएको छ।

सरकारले भविष्यमा भ्याट बिल लिने उपभोक्तालाई तिरेको भ्याटको १० प्रतिशतसम्म फिर्ता दिने व्यवस्था समेत कार्यान्वयनको तयारी गरिरहेको जनाएको छ।


Read Previous

२५ वर्षपछि नाफामा नेपाल औषधि लिमिटेड, अत्यावश्यक औषधिको उत्पादन विस्तार गर्दै

Read Next

तोडफोड र आगजनीपछि यस्तो देखियो गोलबजारको चौहर्वा जामे मस्जिद (तस्बिरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar