Nepal Purbadhar

काठमाडौं-हेटौँडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक

default


काठमाडौं। त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडौं-हेटौँडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ।

वर्षायाम र सडकको अवस्थालाई ध्यानमा राख्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैकल्पिक रुट निर्धारण गरिएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौं-हेटौँडा चल्ने साना सवारीका लागि फर्पिङ-फाखेल-कुलेखानी-भीमफेदी रुट कायम गरिएको छ।

त्यस्तै, हेटौँडा-काठमाडौं चल्ने साना सवारी भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली हुँदै काठमाडौं प्रवेश गर्नेछन्।

ठूला तथा मालवाहक सवारीका लागि भने काठमाडौं-चापागाउँ-भट्टेडाँडा-ठिङ्गन-हेटौँडा रुट निर्धारण गरिएको छ। उक्त रुट प्रयोग गर्ने सवारीले साँझ ६ बजेसम्म ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

हेटौँडाबाट काठमाडौं आउने ठूला तथा मालवाहक सवारीका लागि भैँसे-पालुङ-टिस्टुङ-नौबिसे हुँदै काठमाडौं आउने व्यवस्था मिलाइएको छ।

मकवानपुरको त्रिखण्डी नजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी मालवाहक सवारीलाई उक्त पुल प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

भारी मालवाहक सवारीका लागि बेलिब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिइएको प्रवक्ता सुवेदीले जानकारी दिए।


Read Previous

ऊर्जा क्षेत्रबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग

Read Next

विपद्पीडित ग्राहकलाई बैंकिङ सेवा सहज बनाउन राष्ट्र बैंकको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar