
फाईल तस्बीर
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द गरेका छन्। देशमा उत्पन्न प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा परेको क्षतिका कारण उद्धार, पुनःस्थापना तथा विद्युत् आपूर्ति नियमित बनाउने कार्यलाई प्राथमिकता दिँदै उनले भ्रमण रद्द गरेका हुन्।
भोटेकोशी-त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको छ भने अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्। यस्तो अवस्थामा खोज तथा उद्धार कार्यमा प्रभावकारी समन्वय गर्नुपर्ने जिम्मेवारी मन्त्रालयसामु रहेकाले मन्त्री श्रेष्ठले विदेश भ्रमण नगर्ने निर्णय लिएका हुन्।
बाढीबाट क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना, विद्युत् आपूर्तिलाई नियमित तथा व्यवस्थित बनाउने, प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने तथा विपद्पछिको पुनर्निर्माण र पुनरुत्थानका कामलाई तीव्रता दिनुपर्ने भएकाले भ्रमण स्थगित गरिएको जनाइएको छ।
मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर १५ देखि १७ तारिखसम्म आयोजना भएको ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो।
उक्त भ्रमणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलगायतको टोली सहभागी हुने गरी मन्त्रिपरिषद्ले गत साउन १३ गते भ्रमण स्वीकृत गरेको थियो।
तर, पछिल्लो समय बाढीबाट ऊर्जा क्षेत्रमा भएको क्षति तथा उद्धार, पुनःस्थापना र विद्युत् आपूर्ति व्यवस्थापनमा मन्त्रालयको सक्रियता आवश्यक रहेकाले मन्त्री श्रेष्ठले भ्रमण रद्द गरेका हुन्।
