
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वमा विद्युत आपूर्ति नियमित र भरपर्दो बनाउन विशेष तयारी गरेको छ। प्राधिकरणले उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै सम्भावित अवरोध तत्काल समाधान गर्न प्राविधिक कर्मचारीलाई २४ सै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाएको छ।
तिहार तथा छठमा विद्युत आपूर्ति व्यवस्थापनका लागि प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा वरिष्ठ व्यवस्थापन टोलीको बैठक बसेको छ। बैठकमा पर्वका समयमा विद्युत आपूर्ति सहज बनाउन गरिएका तयारी, प्रणाली सञ्चालन र सम्भावित चुनौती व्यवस्थापनबारे छलफल भएको थियो।
त्यस्तै, प्रणाली सञ्चालन विभाग (एलडीसी), ग्रिड सञ्चालन विभाग तथा वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका प्रादेशिक र प्रदेश डिभिजन कार्यालय प्रमुखहरूसँग भर्चुअल बैठक गरी विद्युत आपूर्ति व्यवस्थापन र आवश्यक जनशक्ति परिचालनबारे समन्वय गरिएको प्राधिकरणले जनाएको छ।

कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत आपूर्तिमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। विद्युत आपूर्तिमा समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइएको छ।
प्राधिकरणले प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारका बाँकी काम तत्काल सम्पन्न गर्न तथा विद्युतसम्बन्धी गुनासो छिटो सम्बोधन गर्न निर्देशन दिएको छ। नो लाइट सेवामा प्राप्त हुने फोन नियमित रूपमा उठाएर उपभोक्ताका समस्या समाधान गर्न पनि सम्बन्धित कार्यालयलाई भनिएको छ।
प्राधिकरणका अनुसार तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युतको अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान छ। उक्त समयमा आन्तरिक विद्युत उत्पादन करिब २ हजार ५०० मेगावाट रहने प्रक्षेपण गरिएको छ।
आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले तिहार तथा छठमा विद्युत आपूर्तिमा समस्या नहुने कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन्।

पर्व अवधिभर विद्युतको माग र आपूर्तिको नियमित अनुगमन गर्न एलडीसी, ग्रिड सञ्चालन विभाग र वितरण केन्द्रहरूबीच निरन्तर समन्वय गरिने प्राधिकरणले जनाएको छ। प्रणालीमा आउन सक्ने समस्या समयमै पहिचान गरी समाधान गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारीसमेत गरिएको छ।
यसैबीच, प्राधिकरणले तिहार तथा छठमा विद्युतको सुरक्षित प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ। विद्युतीय उपकरण तथा तारको अवस्था जाँच गर्न, गुणस्तरहीन सामग्री प्रयोग नगर्न र विद्युत चुहावट वा तारमा समस्या देखिए दक्ष प्राविधिकबाट मात्र मर्मत गराउन प्राधिकरणले अनुरोध गरेको छ।
विद्युत आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए नजिकको वितरण केन्द्र वा सम्बन्धित नो लाइट सेवामा सम्पर्क गर्नसमेत प्राधिकरणले आग्रह गरेको छ।

