Nepal Purbadhar

बक्यौता नतिर्ने उद्योगमाथि सरकार कडा बन्दै, थप ५ उद्योगले तिरे भाडा

फाईल तस्बीर।


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारी स्वामित्वका औद्योगिक क्षेत्रको भाडा बक्यौता नतिर्ने उद्योगमाथि कडाइ थालेपछि थप पाँच उद्योगले बक्यौता रकम बुझाएका छन्। बक्यौता चुक्ता गरेसँगै ती उद्योगको काटिएको विद्युत् लाइन पुनः सञ्चालनमा आएको मन्त्रालयले जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले सात दिनभित्र सम्पूर्ण भाडा बक्यौता चुक्ता नगर्ने उद्योगको विद्युत् र खानेपानी सेवा बन्द गर्न निर्देशन दिएपछि बक्यौता असुलीले गति लिएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार बिहीबार मात्रै ५६ लाख ६० हजार ९२३ रुपैयाँ ३७ पैसा बक्यौता रकम असुल भएको छ। यससँगै हालसम्म कुल ४६ करोड ७३ लाख ११ हजार ९६४ रुपैयाँ ५२ पैसा सरकारी खातामा जम्मा भइसकेको छ।

मन्त्रालयले बक्यौता तिरेपछि हिजो र आज गरी थप पाँच उद्योगको विद्युत् लाइन पुनः सञ्चालन गरिएको जनाएको छ। यद्यपि, अझै २१ उद्योगले भाडा बक्यौता नतिरेकाले उनीहरूको विद्युत् लाइन काटिएकै अवस्थामा रहेको छ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ यताकै जरिवानाबाहेकको बक्यौता रकममध्ये सबैभन्दा बढी रकम तिर्न बाँकी रहेका कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रा. लि. ले ३ करोड ७५ लाख ३६ हजार ४५० रुपैयाँ ७८ पैसा तथा कन्टिनेन्टल सर्भिसेज प्रा. लि. ले १ करोड १ लाख ५३ हजार ४११ रुपैयाँ १७ पैसा अझै तिर्न बाँकी छ।

मन्त्रालयका अनुसार ती दुवै कम्पनीले सरकारको निर्णय कार्यान्वयन नगरी गोदाम सञ्चालन गरिरहेको पाइएको छ। उनीहरूमाथि थप कानुनी कारबाही अघि बढाउने विषयमा मन्त्रालयले आन्तरिक छलफल सुरु गरेको जनाएको छ।

मन्त्री यादवले सरकारी सम्पत्तिको उपयोग गर्ने उद्योगले समयमै दायित्व पूरा गर्नुपर्ने बताउँदै बक्यौता असुली अभियानलाई निरन्तरता दिइने स्पष्ट पार्नुभएको छ।


Read Previous

जलन उपचार सुधारमा जोड, स्वास्थ्यकर्मीलाई तालिम देखि एकीकृत उपचार मापदण्ड लागू गरिने

Read Next

वन क्षेत्रभित्रका विकास आयोजनामा सहजता, थप रूख वा पोल हटाउन मन्त्रालयबाटै स्वीकृति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar