Nepal Purbadhar

लोकसेवामा नाम निकालेर पहिलो पोष्टिङमा टिमुरे पुगेका आयुष अस्ताए, देवघाटमा अन्त्येष्टि


चितवन। सल्यानका २१ वर्षीय आयुष खड्काले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत वैशाखमा रसुवाको टिमुरेस्थित क्वारेन्टाइन कार्यालयमा पहिलो पोष्टिङ पाए। सरकारी सेवामा प्रवेश गरेको पाँच महिना नपुग्दै भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा परेर उनको ज्यान गयो।

बाढीमा परेर ज्यान गुमाएका आयुषको शव भेटिएको पाँच दिनपछि सोमबार चितवन र तनहुँको संगमस्थल देवघाटमा अन्त्येष्टि गरिएको छ। शव बिग्रने अवस्था भएको र घरसम्म लैजान सम्भव नभएपछि देवघाटमै अन्त्येष्टि गरिएको उनका काका रमेश खड्काले बताए।

बागचौर नगरपालिका-१०, पिपलनेटाका आयुष खड्का खड्का परिवारका जेठा छोरा थिए। उनी स्नातक तहको परीक्षा दिन भदौ १२ गते काठमाडौं आउने र भदौ १६ गते गृहजिल्ला सल्यान जाने तयारीमा थिए। तर, घर फर्कने तयारी गरिरहेकै बेला भदौ १० गते बिहान उनी बाढीमा परे।

काका रमेशका अनुसार आयुषले खरिदारमा नाम निकालेपछि सरकारी सेवामा प्रवेश गरेका थिए। उनको लक्ष्य भने अधिकृत बन्ने थियो। परिवारले जागिर गर्दै पढ्न सुझाव दिएपछि उनी रसुवाको पहिलो पोष्टिङमा गएका थिए।

‘पढ्नमा साह्रै रुचि राख्थ्यो। खरिदार हुँदिनँ, म सिधै अधिकृत निकाल्छु भन्थ्यो,’ रमेशले भने, ‘रसुवाको पोष्टिङमा खासै रुचि देखाएको थिएन। तर, परिवारमा कुरा भएपछि जान बाध्य भयो।’

आयुषको परिवारमा बुवा, आमा र बहिनी छन्। बाढीमा आयुष परेको खबर पाएपछि उनकी आमा मुना बेहोस भएकी थिइन्। सोमबार देवघाटमा अन्त्येष्टि भइरहँदा आमा मुना र बहिनी आयुषा अर्धमूर्छित अवस्थामा थिए। अन्त्येष्टिमा सहभागी आफन्तले उनीहरूलाई सम्हालेका थिए।

तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी


Read Previous

तनहुँमा भेटिएका पहिचान नखुलेका शव जङ्गलमा व्यवस्थापन गरिँदै

Read Next

नुवाकोटको त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar