Nepal Purbadhar

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध, हजारौं सवारीसाधन बाटोमै रोकिए


पाल्पा। पहिरो खसेपछि सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडकखण्ड अवरुद्ध भएको छ। तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

बुधबार बिहान करिब ७ बजे ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए। पहिरोका कारण सडकमा ढुङ्गा, माटो तथा लेदो थुप्रिएपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ।

पहिरो हटाएर सडक खुलाउने तयारी भए पनि प्रभावित क्षेत्रमा निरन्तर पहिरो झरिरहेका कारण तत्काल काम सुरु गर्न सक्ने अवस्था नरहेको भट्टराईले बताए।

राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाडतर्फ जाने तथा पहाडबाट तराईतर्फ झर्ने सवारीसाधन बाटोमै रोकिएका छन्। सिद्धार्थ राजमार्ग हुँदै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङसम्म सवारीसाधन सञ्चालन हुने गरेका छन्।

प्रहरीले पहिरो प्रभावित क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सडक खुल्ने अवस्था नआएसम्म यात्रु र चालकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।


Read Previous

बागलुङमा ग्यासको सास्ती : उज्यालो नहुँदै लाइनमा उपभोक्ता

Read Next

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar