
काठमाडौं। नेपाल टेलिकमले भोटेकोसी बाढीबाट प्रभावित थप ४ ओटा साइट सुचारु गरेको जनाएको छ। टेलिकमले आज रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजार साइट सञ्चालनमा ल्याएको हो।
यससँगै बाढीबाट प्रभावित भएका नेपाल टेलिकमका १२० ओटा साइटमध्ये ११० ओटा साइट सुचारु भएका छन्।
जिबजिबे टावर सञ्चालनमा आएसँगै भोर्ले, चिती, गाइसौरा, भोर्लेलगायत नौकुण्ड गाउँपालिका-५ र ६ का विभिन्न स्थानका सेवाग्राहीले सञ्चार सेवा पाउनेछन्।
त्यस्तै, सरमथली टावरबाट यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङलगायत आसपासका क्षेत्रमा सञ्चार सेवा सहज हुनेछ।
धादिङको बेनीघाट साइट सुचारु भएसँगै बेनीघाट बजार तथा आसपासका क्षेत्रमा र नुवाकोटको त्रिशूली साइट सञ्चालनमा आएपछि त्रिशूली बजार तथा ढुंगे आसपासका क्षेत्रमा सञ्चार सेवा सहज हुने नेपाल टेलिकमले जनाएको छ।
बाढीका कारण क्षतिग्रस्त बाँकी साइटहरू पनि क्रमशः सुचारु गर्न प्राविधिक टोली परिचालन भइरहेको टेलिकमले जनाएको छ।
