
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा जलन उपचार सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, एकीकृत उपचार मापदण्ड (स्ट्यान्डर्ड ट्रीटमेन्ट प्रोटोकल–एसटीपी) लागू गर्ने तथा स्थानीयदेखि संघीय तहसम्म उपचार प्रणाली सुदृढ बनाउने तयारी थालेको छ।
यसै सन्दर्भमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर, कीर्तिपुरका डा. किरण नकर्मी, डा. शंकरमान राई तथा जलन अभियन्ता उज्जल थापासँग बिहीबार शिष्टाचार भेट गर्दै नेपालमा जलन उपचारको वर्तमान अवस्था, चुनौती र सुधारका प्राथमिकताबारे विस्तृत छलफल गरेको मन्त्रालयले जनाएको छ।
छलफलका क्रममा जलन भएका बिरामीले दुर्घटना भएको पहिलो क्षणदेखि नै सही र प्रभावकारी उपचार पाउनुपर्ने आवश्यकतामा जोड दिइएको थियो। प्राथमिक उपचार (फर्स्ट एड) सम्बन्धी ज्ञान र सीप स्वास्थ्यकर्मीमा विस्तार गर्न तथा स्थानीय स्वास्थ्य संस्था, एम्बुलेन्स सेवा, जिल्ला अस्पताल, प्रदेश अस्पतालदेखि संघीय अस्पतालसम्म कार्यरत स्वास्थ्यकर्मीलाई जलन व्यवस्थापनसम्बन्धी विशेष तालिम सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो।
त्यस्तै, देशभर जलनका बिरामीको उपचारलाई एकरूप, गुणस्तरीय र वैज्ञानिक बनाउन स्ट्यान्डर्ड ट्रीटमेन्ट प्रोटोकल (एसटीपी) तयार गरी सबै तहका स्वास्थ्य संस्थामा कार्यान्वयन गर्ने विषयमा पनि विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार जलन उपचारलाई स्थानीय, प्रदेश र संघीय तीनै तहमा चरणबद्ध रूपमा व्यवस्थित गर्ने, जटिल बिरामीलाई समयमै उपयुक्त अस्पतालमा रेफरल गर्ने, उपचारमा पहुँच विस्तार गर्ने तथा गुणस्तरीय सेवा सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
मन्त्री मेहताले जलन उपचारलाई स्वास्थ्य सेवाको महत्त्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाइने बताउँदै यस क्षेत्रमा कार्यरत विशेषज्ञ संस्था र अभियन्तासँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने बताउनुभयो। उहाँले जलनका बिरामीले प्रारम्भिक उपचारदेखि विशेषज्ञ सेवासम्म सहज पहुँच पाउने प्रणाली विकास गर्नु मन्त्रालयको प्राथमिकता रहेको उल्लेख गरिन्।
भेटका क्रममा जलन रोकथामसम्बन्धी जनचेतना अभिवृद्धि, उपचार सेवाको गुणस्तर सुधार, स्वास्थ्यकर्मीको क्षमता विकास, उपचार मापदण्डको कार्यान्वयन तथा नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर, कीर्तिपुरको प्राविधिक अनुभवलाई राष्ट्रिय स्तरमा उपयोग गर्ने विषयमा पनि छलफल भएको थियो।
मन्त्रालयका अनुसार जलन उपचार प्रणालीलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधार, विभिन्न तहका स्वास्थ्य संस्थाबीच समन्वय सुदृढ गर्ने तथा आगामी दिनमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको छ।
