Nepal Purbadhar

नारायणीमा भेटिँदै छन् रसुवा बाढीका शव, खोजीमा सेना सक्रिय (तस्बिर)


चितवन, १५ भदौ । रसुवामा आएको बाढीपछि बेपत्ता भएकाहरूको शव चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्रमा पर्ने नारायणी नदीमा भेटिन थालेका छन्।

सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीमा परेका ९०३ जनाको शव फेला परेकोमा तल्लो तटीय क्षेत्रका तीन जिल्लामा मात्रै ६३० ओटा शव भेटिएका छन्। चितवनमा २७२, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २०७ र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा १५१ ओटा शव फेला परेका छन्।

बाढीबाट अत्यधिक प्रभावित रसुवा र नुवाकोट क्षेत्रमा खोज तथा उद्धारको काम तीव्र पारिएको छ। तल्लो तटीय क्षेत्रमा बाढीको बहाव कम हुँदै गएसँगै नारायणी नदी तथा आसपासका क्षेत्रमा धेरै शव भेटिन थालेका हुन्। कतिपय शव भारतसम्म पुगेको बताइएको छ।

चितवन र आसपासका क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना सक्रिय छ। मध्य पृतनाको नेतृत्वमा गठित टास्क फोर्सअन्तर्गत सेनाका विभिन्न युनिटले क्षेत्र विभाजन गरी खोजी गरिरहेका छन्।

नयाँ गोरख गण र नयाँ सबुज गणले संयुक्त रूपमा नारायणी नदी तथा आसपासका क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्। खोजी अभियानमा कमान्डो तालिमप्राप्त सैनिकसमेत परिचालन गरिएको छ। उक्त टोलीले नारायणी नदीका जोखिमपूर्ण तथा कठिन भू–भागमा खोजी गरिरहेको नेपाली सेनाले जनाएको छ।

सोमबार बिहान ५ बजेदेखि सञ्चालन गरिएको खोजीका क्रममा दिउँसो २ बजेसम्म नगर वन टापु क्षेत्रमा १० ओटा शव फेला परेका छन्। सोही क्षेत्रमा थप २ ओटा शवका अवशेष समेत फेला परेको सेनाले जनाएको छ।

चितवनमा बेपत्ताको खोजीका लागि ड्रोन, वाटर रबरबोटलगायतका साधन प्रयोग गरी ४३६ जनाको संयुक्त टोली परिचालन गरिएको छ।

तस्बिर : निशा श्रेष्ठ र राजेन्द्र आचार्य/नेपाल फोटो लाइब्रेरी


Read Previous

नेपाल टेलिकमका थप ४ साइट सुचारु, बाढी प्रभावित १२० मध्ये ११० साइट सञ्चालनमा

Read Next

विपद्को मौका छोपेर बजार भाउ बढाउनेलाई कडा कारबाही गर्न उद्योगमन्त्री यादवको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar