
काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजना, जारी उद्धार कार्य तथा आगामी पुनःस्थापनाका रणनीतिबारे त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा उच्चस्तरीय छलफल भइरहेको छ।
छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, नेपाली सेनाका अधिकारी तथा उद्धारकर्मी, ऊर्जा मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित सम्बन्धित अधिकारी तथा कर्मचारी सहभागी छन्।
जलविद्युत् आयोजनाका सुरुङमा उद्धार कार्यमा खटिएका नेपाली सेनाका उच्च अधिकारीले हालसम्मको प्रगति, घटनास्थलको अवस्था तथा उद्धारका क्रममा देखिएका प्राविधिक र भौगोलिक चुनौतीबारे जानकारी गराएका छन्।
छलफलका क्रममा मन्त्री श्रेष्ठले उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी रूपमा अघि बढाउने उपाय, प्रभावित जलविद्युत् आयोजनाको अवस्था तथा पुनःस्थापनाका लागि आवश्यक पहलका विषयमा सम्बन्धित अधिकारीसँग जानकारी लिइरहेका छन्।
स्थलगत अवस्थाबारे छलफल तथा जानकारी लिएपछि मन्त्री श्रेष्ठले बाढीबाट प्रभावित परिवारसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ।
