
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान, जलवायु उत्थानशील पुनर्निर्माण तथा नेपालको दीर्घकालीन आर्थिक प्राथमिकता कार्यान्वयनका लागि सहयोग गर्न एसियाली विकास बैंक (एडिबी) लाई आग्रह गरेका छन्।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन थाइल्यान्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री वाग्लेले एडिबीका अध्यक्ष मासातो कान्दासँगको भेटमा यस्तो आग्रह गरेका हुन्।
अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनरुत्थान र जलवायु परिवर्तनका असर सामना गर्न सक्ने पूर्वाधार निर्माणका लागि आवश्यक स्रोत परिचालनमा सहयोग गर्न एडिबी अध्यक्ष कान्दालाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
नेपालले हालै भोगेका प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, क्षतिग्रस्त पूर्वाधारको पुनःस्थापना र भविष्यमा विपद्का असर न्यूनीकरण गर्न सक्ने संरचना निर्माणमा विकास साझेदारको सहयोग आवश्यक रहेको सन्दर्भमा उनले एडिबीसँग सहकार्यको आग्रह गरेका हुन्।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले बाढीपछि उद्धार तथा राहतका लागि एडिबीले आपत्कालीन अनुदान छिटो स्वीकृत गरेको र नेपालप्रति ऐक्यबद्धता व्यक्त गरेकोमा आभार व्यक्त गरे।
एडिबी अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य गर्नु बैंकको उच्च प्राथमिकतामा रहेको बताएका थिए। उनले नेपालको विकास प्रयासमा सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका हुन्।
भेटवार्तामा अर्थमन्त्री वाग्लेसँगै भ्रमण टोलीमा रहेका अर्थसचिव डा. घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए।

