Nepal Purbadhar

बाढीले तहसनहस सोती बजारलाई पुरानै लयमा फर्काउने प्रयास, सरसफाइमा जुटे स्थानीय


गोरखा। बुढीगण्डकी नदीमा आएको बाढीले क्षतिग्रस्त गोरखाको आरुघाट गाउँपालिका–३ स्थित सोती बजारलाई पुरानै अवस्थामा फर्काउन स्थानीय जुटेका छन्। बाढीले घर तथा व्यापारिक संरचनामा लेदो, ढुंगा र माटो थुपारेपछि स्थानीय सरसफाइमा खटिएका छन्।

गत असोज २५ गते आएको बाढीले सोती बजारका करिब १५ ओटा घर तथा व्यापारिक संरचनामा क्षति पुर्‍याएको थियो। बाढी घरभित्रै पसेपछि स्थानीयले ठूलो सास्ती खेप्नुपरेको छ। प्रभावित परिवार अहिले घरभित्र थुप्रिएको लेदो र फोहोर हटाउँदै जनजीवन सामान्य बनाउने प्रयासमा छन्। सरसफाइ तथा उद्धारका काममा नेपाली सेनाले समेत सहयोग गरिरहेको छ।

बाढीका कारण केही परिवार घर छाडेर आफन्तकोमा तथा सामुदायिक भवनमा आश्रय लिन बाध्य भएका छन्। घरभित्र थुप्रिएको लेदो हटाउने, क्षतिग्रस्त संरचनाको अवस्था पहिचान गर्ने र सुरक्षित बसोबासको व्यवस्था मिलाउने काम प्रभावित क्षेत्रका बासिन्दाका लागि चुनौती बनेको छ।

बाढीले सोती र मान्बु जोड्ने बुढीगण्डकी नदीमाथिको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने मोटरेबल पुलसमेत बगाएको छ। पुल बगाएपछि स्थानीयको आवागमन प्रभावित भएको छ। यसले मनास्लु पदमार्ग हुँदै यात्रा गर्ने पदयात्री तथा धार्चे र चुमनुब्री क्षेत्रका बासिन्दाको आवतजावतमा समेत समस्या सिर्जना गरेको छ।

त्यस्तै, सोती बजार क्षेत्रका सडकमा लेदो र भग्नावशेष थुप्रिँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ। सडकमा थुप्रिएको माटो र अन्य अवरोध हटाउने काम भइरहेको छ।

बाढीले पुर्‍याएको क्षतिपछि बजारको नियमित गतिविधि पुनः सञ्चालन गर्ने र प्रभावित परिवारको जनजीवन सामान्य बनाउने प्रयास भइरहेको छ। तर, भौतिक संरचनाको क्षति, आवागमनमा अवरोध र सुरक्षित आवासको व्यवस्थापनले स्थानीयलाई तत्काल चुनौती थपेको छ।


तस्बिर : साइराम उपरकोटी/नेपाल फोटो लाइब्रेरी


Read Previous

साउदी अरबका राजदूतमा प्रस्तावित सुनारको नियुक्ति रोकियो, समितिबाट अस्वीकृत

Read Next

१८ दिनपछि सञ्चालनमा आयो घिरिङ-डेढगाउँ जोड्ने कालीगण्डकी पुल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar