Nepal Purbadhar

चोभार सबस्टेसन दशैंलगत्तै सञ्चालनमा आउने, काठमाडौंको विद्युत् आपूर्ति सुधार हुने अपेक्षा


काठमाडौं। काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन निर्माण भइरहेको १३२/११ केभी चोभार सबस्टेसन दशैंलगत्तै सञ्चालनमा आउने भएको छ। कीर्तिपुर नगरपालिका-६ मा निर्माणाधीन सबस्टेसनका दुई ओटा पावर ट्रान्सफर्मरमध्ये एउटा चार्ज गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको हो।

चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई ओटा पावर ट्रान्सफर्मर जडान गरिएका छन्। सबस्टेसनमा विद्युत् आपूर्ति गर्न आवश्यक मातातीर्थ-चोभार १३२ केभी प्रसारण लाइनको एउटा सर्किट यसअघि नै चार्ज भइसकेको छ।

काठमाडौं उपत्यकामा विशेषगरी कीर्तिपुर र आसपासका क्षेत्र तथा ललितपुरको पुल्चोक क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न सबस्टेसन महत्त्वपूर्ण हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय हुने अपेक्षा गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठसहितको टोलीले बिहीबार सबस्टेसनको स्थलगत अनुगमन गरेको छ। टोलीमा प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक नवराज ओझा र वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाललगायत सहभागी थिए।

अनुगमनका क्रममा कार्यकारी निर्देशक श्रेष्ठले सबस्टेसनमा विद्युत् आपूर्ति गर्ने प्रसारण लाइन चार्ज भइसकेकाले बाँकी काम शीघ्र सम्पन्न गरी दशैंलगत्तै सञ्चालनमा ल्याउन निर्देशन दिए।

उनले आगामी हिउँदयाममा काठमाडौं उपत्यकाको बढ्दो विद्युत् माग व्यवस्थापन गर्न मातातीर्थ-चोभार प्रसारण लाइन र चोभार सबस्टेसन महत्त्वपूर्ण हुने बताए। दुवै संरचनालाई उच्च प्राथमिकतामा राखेर यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्नेमा उनले जोड दिए।

नौ ओटा फिडरबाट विद्युत् वितरण गरिने

चोभार सबस्टेसनबाट स्थानीय क्षेत्रमा विद्युत् वितरण गर्न ११ केभीका नौ ओटा फिडर लाइनको व्यवस्था गरिएको छ। तीमध्ये तीन ओटा फिडर ललितपुरको पुल्चोकतर्फ र छ ओटा कीर्तिपुरतर्फ विस्तार गरिनेछन्।

फिडर लाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ। उक्त काम सम्पन्न भएपछि दशैंलगत्तै सबस्टेसन चार्ज गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ।

थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत ललितपुरका खोकना, बुङमती, हरिसिद्धि र लामाटार क्षेत्रमा निर्माण कार्य अघि बढाउन अवरोध भएपछि वैकल्पिक व्यवस्थाका रूपमा चोभारमा सबस्टेसन निर्माण गरिएको हो।

चोभार सबस्टेसनदेखि पाटनसम्म करिब साढे चार किलोमिटर लामो १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ। पाटनमा १३२ केभी सबस्टेसन निर्माणको कामसमेत भइरहेको छ।

चोभारको भूतखेलस्थित हिमाल सिमेन्टको स्वामित्वमा रहेको १२ रोपनी १२ आना जग्गा भाडामा लिएर सबस्टेसन निर्माण गरिएको हो। मन्त्रिपरिषद्को २०७८ माघ १७ गतेको बैठकले उक्त जग्गा नेपाल विद्युत् प्राधिकरणलाई सबस्टेसन निर्माणका लागि भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो।

एसियाली विकास बैंक (एडीबी) को काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनाअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋणमा सबस्टेसन निर्माण गरिएको हो।

चोभार सबस्टेसन र मातातीर्थ-चोभार प्रसारण लाइन सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीको क्षमता तथा विश्वसनीयता बढाउन र आगामी हिउँदयामको माग व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


Read Previous

भारत भ्रमणको तयारीमा जुटेका प्रधानमन्त्रीलाई इप्पानका पूर्वअध्यक्ष कार्कीका ७ सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar