Nepal Purbadhar

१८ दिनपछि सञ्चालनमा आयो घिरिङ-डेढगाउँ जोड्ने कालीगण्डकी पुल


दमौली। कालीगण्डकी नदीमा आएको बाढीले पहुँच सडक बगाएपछि बन्द भएको तनहुँको घिरिङ र नवलपुरको डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ। पुलको दुवैतर्फको पहुँच सडक निर्माण सम्पन्न भएपछि बुधबारदेखि सवारीसाधन सञ्चालनमा आएका हुन्।

गत असोज ११ गते आएको बाढीले तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकास्थित डेढगाउँ जोड्ने कालीगण्डकी नदीमाथिको पुलको दुवैतर्फको पहुँच सडक बगाएको थियो। पहुँच मार्ग अवरुद्ध भएपछि स्थानीय बासिन्दा, यात्रु तथा मालसामान ढुवानी गर्ने सवारीसाधनले सास्ती खेप्नुपरेको थियो।

नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको थियो। तनहुँतर्फको पहुँच सडक भने बुधबार सम्पन्न भएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए। दुवैतर्फको सडक निर्माण पूरा भएसँगै पुलबाट सवारीसाधन आवतजावत सुरू भएको उनले बताए।

घिरिङतर्फको पहुँच सडक मर्मतका लागि सडक डिभिजन कार्यालय तनहुँले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो। उक्त काम स्याङ्जाको सिद्धबाबा निर्माण सेवाले युनिट रेट सम्झौतामार्फत सम्पन्न गरेको हो।

पुल सञ्चालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर, पाल्पा, स्याङ्जा र चितवनलगायत स्थानमा आवतजावत सहज हुने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दा, यात्रु तथा व्यवसायीलाई सामान ढुवानी गर्न पनि राहत पुग्नेछ।

करिब १२ वर्षअघि निर्माण गरिएको फलामे पुल गैंडाकोट-पिपलडाँडा जोड्ने कालीगण्डकी करिडोर नजिकै अवस्थित छ। पोखरा, गैंडाकोट र रामपुर क्षेत्रबीच आवतजावत गर्ने महत्वपूर्ण नाकाका रूपमा रहेको यो पुलको पहुँच सडक बाढीले बगाएपछि दैनिक हजारौँ यात्रु र सयौँ सवारीसाधन प्रभावित भएका थिए।

पुल पुनः सञ्चालनमा आएसँगै दशैंका बेला घर आउजाउ गर्ने सर्वसाधारणलाई विशेष राहत मिलेको गाउँपालिका अध्यक्ष थापाले बताए।


Read Previous

बाढीले तहसनहस सोती बजारलाई पुरानै लयमा फर्काउने प्रयास, सरसफाइमा जुटे स्थानीय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar