
काठमाडौं। मर्स्याङ्दी करिडोरअन्तर्गतको २२० केभी मार्कीचोक-भरतपुर प्रसारण लाइनको करिब २८ किलोमिटर खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ। लामो समयदेखि अलपत्र रहेको आयोजना निजी क्षेत्रको सहभागितामा डेढ वर्षभित्र सम्पन्न भएपछि ऊर्जा पूर्वाधार निर्माणमा निजी क्षेत्रको क्षमताबारे नयाँ सन्देश गएको सरोकारवालाले बताएका छन्।
नेपाल विद्युत प्राधिकरणका अनुसार तनहुँको आँबुखैरनीस्थित न्यू मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको भरतपुर महानगरपालिका–आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। हाल एक सर्किटमार्फत २२० केभी विद्युत प्रवाह गरी परीक्षण सुरु गरिएको छ। परीक्षण सफल भएपछि लाइन नियमित सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ।
यो आयोजना प्रारम्भमा २०७४ सालमा चिनियाँ कम्पनी पिङ्गाओ ग्रुपले निर्माणको जिम्मा पाएको थियो। तर सात वर्षभन्दा बढी समय बित्दा पनि ८४ वटा टावरमध्ये ३५ वटाको फाउन्डेसन र १० वटाको मात्र इरेक्सन सम्पन्न भएपछि निर्माणको गति अत्यन्त सुस्त बनेको थियो। त्यसपछि नेपाल विद्युत प्राधिकरणले २०८१ मंसिरमा बाँकी निर्माणको जिम्मेवारी निजी क्षेत्रका जलविद्युत प्रवर्द्धकहरूलाई दिएको थियो।
त्यसपछि मर्स्याङ्दी करिडोरका सात निजी जलविद्युत आयोजनाले संयुक्त रूपमा करिब चार करोड ९६ लाख ९५ हजार रुपैयाँ लगानी गरी निर्माण अघि बढाएका थिए। निर्माण व्यवस्थापनका लागि भीभा कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीलाई जिम्मेवारी दिइएको थियो।
निर्माणको सहजीकरण तथा समन्वयका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का तत्कालीन उपाध्यक्ष तथा हालका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिमा पिपुल्स हाइड्रोका आयोजना निर्देशक अर्जुन गौतम र आशुतोष इनर्जी लिमिटेडका अध्यक्ष मोहनविक्रम कार्की सदस्य थिए।
निजी क्षेत्रले जिम्मेवारी सम्हालेपछि निर्माणले तीव्र गति लिएको जनाइएको छ। हाल सबै ८४ वटा टावरको फाउन्डेसन सम्पन्न भएको छ भने ७८ वटा टावरको इरेक्सन सकिएको छ। गत वर्षसम्म उल्लेखनीय प्रगति हुन नसकेको २८ किलोमिटर प्रसारण लाइन अहिले पूर्ण रूपमा निर्माण सम्पन्न भएको हो।
यस प्रसारण लाइनमार्फत ५४ मेगावाटको सुपर दोर्दी, १२ मेगावाटको दोर्दी खोला–१, २७ मेगावाटको दोर्दी खोला, ३० मेगावाटको न्यादी, ८.६ मेगावाटको चेपे खोला र ९.०५ मेगावाटको सुपर चेपे खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।
इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाले सात वर्षसम्म सम्पन्न हुन नसकेको आयोजना डेढ वर्षमै पूरा गरेर निजी क्षेत्रले प्रसारण पूर्वाधार निर्माणमा पनि आफ्नो क्षमता प्रमाणित गरेको बताए। उनले सरकारले आवश्यक नीति र अनुमति दिए निजी क्षेत्र प्रसारण लाइन निर्माण तथा विद्युत व्यापारमा समेत योगदान गर्न सक्षम रहेको उल्लेख गरे।
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आयोजना सम्पन्न हुनु ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले उत्पादनसँगै प्रसारण पूर्वाधार विस्तारलाई समान प्राथमिकता दिनुपर्नेमा जोड दिँदै वन कटानी, जग्गा अधिग्रहण तथा कानुनी प्रक्रियाका कारण हुने ढिलाइ हटाउन आवश्यक सुधार गर्नुपर्ने बताए।
प्राधिकरणका अनुसार यो प्रसारण लाइन मर्स्याङ्दी, दोर्दी, त्रिशूली नदी तथा तिनका सहायक खोलामा निर्माण भएका र निर्माणाधीन निजी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न महत्वपूर्ण हुनेछ। यसबाट प्रसारण पूर्वाधार अभावका कारण उपयोग हुन नसकेको विद्युत राष्ट्रिय ग्रिडमार्फत उपभोग तथा व्यापारका लागि उपयोग गर्न सकिने अपेक्षा गरिएको छ।
यसैबीच, प्रसारण लाइन परीक्षणका क्रममा उच्च भोल्टेज विद्युत प्रवाह भइरहेकाले प्राधिकरणले प्रभावित क्षेत्रका स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। तनहुँ, गोरखा र चितवनका प्रसारण लाइन आसपासका बासिन्दालाई टावरमा नचढ्न, विद्युतीय संरचना नछुन, टावर वरपर नजान तथा बालबालिका र चौपायालाई पनि त्यहाँबाट टाढा राख्न अनुरोध गरिएको छ। परीक्षणका क्रममा कुनै असामान्य अवस्था देखिएमा तत्काल प्रहरी वा नेपाल विद्युत प्राधिकरणको नजिकको कार्यालयमा जानकारी गराउन पनि आग्रह गरिएको छ।
