
जनकपुरधाम। मधेस प्रदेशका विभिन्न जिल्लामा पछिल्ला वर्षहरूमा ट्रान्सफर्मर चोरीका घटना बढ्दै जाँदा विद्युत् आपूर्ति र सिँचाइ सेवा प्रभावित भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला पाँच वर्षमा प्रदेशभर ९९ वटा ट्रान्सफर्मर चोरी भएका छन्।
नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरधामका प्रशासन प्रमुख कालिचरण यादवका अनुसार ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीका घटना बढ्दै गएका हुन्।
तथ्यांकअनुसार महोत्तरीमा सबैभन्दा बढी ३५ वटा ट्रान्सफर्मर चोरी भएका छन्। त्यसपछि बारामा १५, धनुषामा १४, रौतहटमा १०, सर्लाही र सिरहामा नौ-नौ, सप्तरीमा तीन तथा पर्सामा दुई वटा ट्रान्सफर्मर चोरी भएका छन्। चोरी भएका ट्रान्सफर्मरको क्षमता १५ केभीएदेखि २०० केभीएसम्म रहेको प्राधिकरणले जनाएको छ।
ट्रान्सफर्मर चोरीका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा विशेषगरी सिँचाइमा निर्भर किसानहरू प्रत्यक्ष प्रभावित भएका छन्। आवश्यक समयमा सिँचाइ गर्न नपाउँदा खेतीपातीमा असर परेको किसानहरूको गुनासो छ।
स्थानीय कृषकहरूले चोरीमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी प्रभावित क्षेत्रमा नयाँ ट्रान्सफर्मर जडान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले चोरी भएका ट्रान्सफर्मरको खोजी तथा घटनामा संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान भइरहेको बताएका छन्।
ट्रान्सफर्मर चोरीका घटनाले विद्युत् पूर्वाधारको सुरक्षामाथि चुनौती थपिएको भन्दै प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वय बढाएर यस्ता घटना नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
