Nepal Purbadhar

कमिसन घटाउन र उचित भाडा निर्धारण गर्न माग गर्दै राइड सेयरिङ चालक आन्दोलनमा


काठमाडौं। कमिसन घटाउन र वैज्ञानिक तथा उचित भाडा दर निर्धारण गर्न माग गर्दै राइड सेयरिङ कम्पनीसँग आबद्ध चालकहरूले प्रदर्शन गरेका छन्।

इन्ड्राइभ, पठाउ, याङ्गो लगायतका राइड सेयरिङ कम्पनीमा आबद्ध चालकहरूले बढी कमिसन र कम भाडा दरका कारण आफूहरू मारमा परेको भन्दै इन्ड्राइभको कुपण्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।

स्वतन्त्र चालक फाउण्डेसन नेपालको अगुवाइमा चालकहरूले आन्दोलन थालेका हुन्। प्रदर्शनमा सहभागी चालकहरूले ‘भाडा कम, कमिसन बढी अब सहँदैनौँ’, ‘श्रमको मूल्य देऊ, राइडरको जीवन सुरक्षित गर्’, ‘कमिसन घटाऔँ, न्याय बढाऔँ’, ‘हामी चुप लागेर बस्दैनौँ, अन्याय सहेर बस्दैनौँ’ र ‘राइडरको शोषण बन्द गर्’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

फाउण्डेसनकी अध्यक्ष रेश्मा बिसुन्केका अनुसार सरकारले नयाँ आर्थिक वर्षदेखि लागू गरेको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को भारसमेत चालकहरूले व्यहोर्नुपरेको छ। पुरानै भाडा दर कायम रहँदा त्यसमा कम्पनीलाई कमिसन तिर्नुपर्ने भएकाले चालकको आम्दानी थप प्रभावित भएको उनको भनाइ छ।

‘एकातिर भाडा दर पर्याप्त छैन, अर्कोतिर कम्पनीले लिने कमिसन र नयाँ करको भार चालकले व्यहोर्नुपरेको छ,’ बिसुन्केले भनिन्, ‘यसले राइड सेयरिङ चालकको श्रमको उचित मूल्य नपाउने अवस्था सिर्जना गरेको छ।’

चालकहरू विगत तीन दिनदेखि आन्दोलनमा छन्। उनीहरूले यसअघि दुई दिन ललितपुरमा प्रदर्शन गरेका थिए भने बिहीबार काठमाडौंको माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका छन्।

चालकहरूले राइड सेयरिङ सेवामा वैज्ञानिक तथा उचित भाडा दर निर्धारण गर्न, कम्पनीले लिने कमिसन घटाउन र चालकको श्रमको उचित मूल्य सुनिश्चित गर्न माग गरेका छन्।

उनीहरूले चालकको आम्दानी, इन्धन खर्च, सवारीसाधनको मर्मतसम्भार, कर तथा अन्य सञ्चालन खर्चलाई आधार बनाएर भाडा निर्धारण गर्नुपर्ने बताएका छन्। साथै राइड सेयरिङ कम्पनीहरूको कमिसनसम्बन्धी व्यवस्था पारदर्शी बनाउन र चालकको हितलाई समेत ध्यानमा राखेर नियमन गर्न सरकारसँग माग गरेका छन्।

राइड सेयरिङ सेवा विस्तारसँगै यसमा निर्भर चालकको संख्या बढ्दै गए पनि उनीहरूको श्रम, आम्दानी र सामाजिक सुरक्षासम्बन्धी विषयमा पर्याप्त ध्यान नदिइएको चालकहरूको गुनासो छ। आन्दोलनले निरन्तरता पाए राइड सेयरिङ सेवा थप प्रभावित हुन सक्ने देखिएको छ।


Read Previous

मधेसमा पाँच वर्षमा ९९ ट्रान्सफर्मर चोरी, किसान प्रत्यक्ष प्रभावित

Read Next

१२८ मेगावाटको तमोर मेवा जलविद्युत् आयोजनामा सुरुङ खन्ने काम सुरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar