
खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीको सीमामा पर्ने घर्तीभिरको विशाल चट्टान फुटाएर सडक निर्माण सम्पन्न गरिएको छ। वर्षौंदेखि सडक विस्तारमा मुख्य बाधक बनेको चट्टान हटाइएपछि दिक्तेलबाट आहाले-रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सडक सञ्चालनको बाटो खुलेको छ।
कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय खोटाङमार्फत करिब एक करोड सात लाख ७८ हजार रुपैयाँको लागतमा सडक निर्माण गरिएको हो। मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको दुई करोड रुपैयाँ बजेटमध्ये ठेक्का प्रक्रियामार्फत कमला कन्स्ट्रक्सन एन्ड सप्लायर्स, उदयपुरले करिब एक करोड सात लाख रुपैयाँमा निर्माणको जिम्मा लिएको थियो।
निर्माण कम्पनीले करिब पाँच महिनाको अवधिमा स्काभेटर र ब्रेकर प्रयोग गरेर विशाल चट्टान फुटाउँदै सडक निर्माण सम्पन्न गरेको हो। यसका लागि २०८२ माघमा ठेक्का सम्झौता गरिएको थियो।
विगतमा घर्तीभिर काटेर सडक बनाउने योजना बने पनि कठिन भौगोलिक अवस्थाका कारण कार्यान्वयन हुन सकेको थिएन। भौतिक पूर्वाधार विकास कार्यालय स्थापना भएपछि आवश्यक बजेट व्यवस्थापन गरी चट्टान फुटाएर सडक निर्माण सम्भव भएको हो।
नयाँ सडक सञ्चालनमा आएपछि दिक्तेलबाट उदयपुरको गाईघाट हुँदै पूर्वी तराईका विभिन्न जिल्लामा पुग्ने दूरी करिब साढे १७ किलोमिटरले छोटिएको छ। यसले यात्राको समय, इन्धन खर्च तथा ढुवानी लागत घटाउने अपेक्षा गरिएको छ।
यस सडक नियमित सञ्चालनमा आएपछि पूर्वी तराईसँगको सम्पर्क सहज हुने, खाद्यान्न, इन्धन, हार्डवेयर तथा अन्य दैनिक उपभोग्य वस्तुको ढुवानीमा सुविधा पुग्ने र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
यसैबीच, सोही सडकखण्डअन्तर्गत देखुवाखोलामा मोटरेबल ट्रस पुल निर्माणको काम पनि अघि बढिरहेको छ। करिब दुई करोड रुपैयाँभन्दा बढी मूल्यको स्टिल ट्रस निर्माणस्थलमा पुगिसकेको छ। पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा करिब छ महिनासम्म हुने यातायात अवरोधसमेत अन्त्य हुने विश्वास गरिएको छ।
