
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले मुलुकको सीमा सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे संसद्मै उपस्थित भएर स्पष्ट पार्नुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठक प्रारम्भ हुनेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई आफ्नो धारणा राख्न समय दिएका थिए।
नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले संसद्मा स्पष्ट पार्नुपर्ने विषय पार्टीको महाधिवेशनको मञ्चबाट उठाइनु संसदीय मर्यादाविपरीत भएको टिप्पणी गरिन्। उनले राष्ट्रिय महत्वका विषयमा प्रधानमन्त्रीले संसद्प्रति जवाफदेही हुनुपर्ने बताइन्।
नेकपा (एमाले)का सांसद डा. पुष्पराज कँडेलले पनि प्रधानमन्त्री संसद्मा उपस्थित भएर सीमासम्बन्धी अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरे। उनले एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले पूर्वाग्रहका आधारमा पक्राउ गरेको आरोपसमेत लगाए।
नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन सरकारका गतिविधि केन्द्रित हुनुपर्ने बताए। उनले प्रदेशसभा खारेज गरी सङ्घीयताको पुनःसंरचना गर्ने सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावप्रति असहमति जनाए।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले राष्ट्रियतासँग जोडिएका संवेदनशील विषयमा प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर स्पष्ट पार्नुपर्ने माग गरे।
विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय महत्वको विषय उठाएकाले त्यसबारे संसद्मै औपचारिक जवाफ आउनुपर्नेमा जोड दिएका छन्।
