Nepal Purbadhar

निरन्तर वर्षापछि नारायणगढ-मुग्लिन सडक सहित मूख्य राजमार्गहरूमा राति सवारी चलाउन रोक


चितवन। असोज ९ देखि ११ गतेसम्म विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल प्रहरीले प्रमुख राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार पृथ्वीराजमार्ग, सिद्धिचरण लोकमार्ग, कान्ति राजमार्ग, बीपी राजमार्ग र नारायणगढ-मुग्लिन सडकखण्डमा विभिन्न समयमा रात्रिकालीन आवागमन रोकिएको हो।

यस्तै निरन्तर वर्षा भइरहेपछि जिल्ला प्रशासन कार्यालय चितवनले पनि नारायणगढ-मुग्लिन सडकखण्डमा बिहीबार राति सवारी आवागमन रोक्ने निर्णय गरेको छ।

प्रशासनका अनुसार बिहीबार बेलुका ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

चितवन तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन रोकिएको प्रशासनले जनाएको छ।

प्रशासनले आगामी केही दिन भारी वर्षा हुने प्रक्षेपण रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राखेर रातिको समयमा सडकमा सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

राजमार्गअनुसार सवारी आवागमन रोक्ने समय यस्तो छ :

पृथ्वीराजमार्ग: बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रूपमा सवारी आवागमन रोक।
सिद्धिचरण लोकमार्ग: आजदेखि असोज १२ गतेसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारीसाधन र पैदलयात्रीको रात्रिकालीन आवागमन रोक।
कान्ति राजमार्ग: बेलुका ७ बजेदेखि सवारी आवागमन पूर्ण रूपमा रोक।
भैँसे-भीमफेदी-देउराली-कुलेखानी हुँदै काठमाडौं आउने सडक: बेलुका ७ बजेदेखि सवारी आवागमन रोक।
बीपी राजमार्ग: बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक।
नारायणगढ-मुग्लिन सडकखण्ड: बेलुका ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक।

प्रहरी प्रधान कार्यालयका अनुसार देशभर मनसुनी गतिविधि कायम रहेकाले सम्भावित बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यानमा राखेर रात्रिकालीन आवागमनमा रोक लगाइएको हो।

प्रहरीले जोखिमयुक्त सडकखण्डमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन र सम्बन्धित निकायले जारी गर्ने सूचनालाई ध्यान दिन आग्रह गरेको छ।


Read Previous

पहिरोले कान्ति लोकपथ अवरुद्ध, यातायात पूर्ण बन्द गरेर पहिरो पन्छाउँदै

Read Next

सेयर बजारमा इन्ट्राडे कारोबार सुरू गर्ने तयारी, धितोपत्र बोर्डले माग्यो सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar