Nepal Purbadhar

अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

फाइल तस्बीर।


बागलुङ। अति भारीदेखि भारी वर्षाको सम्भावना रहेकाले बागलुङ जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका केही स्थानमा आजदेखि असोज ११ गतेसम्म अति भारीदेखि भारी वर्षा हुनसक्ने विशेष मौसम बुलेटिन जारी गरेपछि बागलुङ प्रशासनले विपद् जोखिमलाई ध्यान दिँदै पूर्वतयारी बढाएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम हुनसक्ने भन्दै सुरक्षा सतर्कता बढाउने निर्णय गरेको छ।

बैठकले सुरक्षा निकायलाई खोज तथा उद्धार सामग्रीसहित जनशक्ति तयारी अवस्थामा राख्ने, जोखिमयुक्त बस्तीमा पूर्वसतर्कता अपनाउन स्थानीय तहसँग निरन्तर समन्वय गर्ने तथा नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गर्ने निर्णय गरेको छ।

त्यस्तै, भारी वर्षाको सम्भावना रहेका स्थान तथा खोला किनारका बस्तीमा निरन्तर सूचना प्रवाह गर्ने र जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गरिएको छ।

प्रशासनले अस्पताल, नर्सिङ होम, स्वास्थ्य केन्द्र तथा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न पनि आग्रह गरेको छ। स्थानीय तहलाई विपद् उद्धारका सामग्री तथा सडक अवरोध हटाउन आवश्यक जेसिबी, एक्साभेटरलगायत उपकरण निर्माण व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय गरी तयारी अवस्थामा राख्न भनिएको छ।

वर्षाका कारण सम्भावित विपद् सामना गर्न आवश्यक सामग्री तयारी अवस्थामा राख्न र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।


Read Previous

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगर्न सरकारको आग्रह

Read Next

६३० पालिकामा कांग्रेसको गाउँ-नगर अधिवेशन सम्पन्न, कतिपय स्थानीय तहमा मौसम बाधक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar