
काठमाडौं/भरतपुर । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स नेपाल (SCAEF Nepal) ले निर्माण व्यवसाय विकास कार्यान्वयन समिति (CBDIC) र नेपाल निर्माण व्यवसायी महासंघ (FCAN) सँगको सहकार्यमा दिगो भवन निर्माण प्रविधिसम्बन्धी तीन दिने तालिम कार्यक्रम चितवनमा सुरु गरेको छ।
भरतपुरस्थित होटल पौवामा बिहीबारदेखि सुरु भएको ‘भवनहरूमा सर्कुलर, रेजिलेन्ट एण्ड रिजेनेरेटेड डिजाइन’ (Circular Resilient and Regenerated Design in Buildings) विषयक तालिम असार ६ गतेसम्म सञ्चालन हुनेछ।
परामर्श, निर्माण क्षेत्र तथा सरकारी विभाग र मन्त्रालयअन्तर्गतका परियोजनासँग सम्बन्धित सरोकारवालाको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको SCAEF नेपालले जनाएको छ। तालिममार्फत वातावरणमैत्री, दिगो र भविष्यउन्मुख भवन निर्माणका आधुनिक अवधारणाबारे सहभागीलाई जानकारी प्रदान गरिनेछ।
कार्यक्रमको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघ (FCAN) बागमती प्रदेशका उपाध्यक्ष उमानन्द कँडेलले गरेका थिए। उद्घाटन समारोहमा FCAN चितवन जिल्ला अध्यक्ष दिनेशचन्द्र न्यौपाने तथा भरतपुर महानगरपालिकाकी आर्किटेक्ट अस्मिता खनालको विशेष उपस्थिति रहेको थियो।
उद्घाटन सत्र आर्किटेक्ट अरुणा तण्डुकारको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन SCAEF नेपालका कार्यसमिति सदस्य आर्किटेक्ट सुगन्ध सुबेदीले गरेका थिए।
SCAEF नेपाल र प्रोफेसनल डेभलपमेन्ट क्यापासिटी बिल्डिङ (PDCB) को संयुक्त आयोजनामा सञ्चालन भएको तालिममा विशेषज्ञद्वारा सहजीकरण गरिएका सत्र, व्यवहारिक अनुभव तथा वास्तविक परियोजनाका उदाहरणहरू प्रस्तुत गरिने जनाइएको छ।
SCAEF नेपालले निर्माण क्षेत्रका नियोक्ता, परामर्शदाता र निर्माण व्यवसायीलाई देशभर सञ्चालन हुने यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।
संस्थाका अनुसार सर्कुलर, रेजिलेन्ट र रिजेनेरेटेड डिजाइन अवधारणामा आधारित यस्ता सहकार्यात्मक कार्यक्रमहरूले नेपालको परामर्श तथा निर्माण उद्योगको संस्थागत क्षमता सुदृढ गर्न तथा परियोजना कार्यान्वयनको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
