Nepal Purbadhar

नेपालमा दुई लाख २३ हजारभन्दा बढी बेटिङ वेबसाइट तथा एप बन्द


काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी तथा अवैध वित्तीय कारोबारमा प्रयोग भइरहेका दुई लाख २३ हजार ५६८ वेबसाइट तथा एप बन्द गरेको छ।

सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी नियन्त्रणको विषय समेटेपछि नेपालमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी वेबसाइट तथा एप बन्द गर्ने अभियान अघि बढाइएको थियो।

कार्यसूचीको ४२औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने उल्लेख थियो। सोही निर्णयअनुसार त्यसबेला नेपालमा सञ्चालनमा रहेका सबै सट्टेबाजी वेबसाइट बन्द गरिएको थियो।

तर एउटा वेबसाइट बन्द भएपछि नयाँ नाम र नयाँ ठेगानामा अर्को वेबसाइट खुल्ने क्रम जारी रहेपछि प्राधिकरणले निरन्तर निगरानी र कारबाही अघि बढाउँदै आएको छ। यस वर्षको फिफा विश्वकपपछि मात्रै दुई लाख २३ हजार ५६८ बेटिङसम्बन्धी एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ।

विश्वकपका समयमा अनलाइन सट्टेबाजीको प्रयोग बढ्न सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत चासो देखाएपछि प्राधिकरणले कारबाहीलाई तीव्रता दिएको हो। यसका लागि प्राधिकरणले छुट्टै कार्यदलसमेत गठन गरेको छ।

कार्यदलमा रहेका दूरसञ्चारका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप शुरू भएपछि इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिलाई प्राधिकरणमै राखेर त्यस्ता वेबसाइट बन्द गर्ने काम गरिएको थियो।

इन्टरनेट सेवा प्रदायकसँगको सहकार्यमा त्यस्ता वेबसाइट सञ्चालन हुने ठेगाना अवरुद्ध गरिने उनले बताए। उनका अनुसार लाखौँ वेबसाइट एक-एक गरी खोज्न कठिन हुने भएकाले अधिकारप्राप्त विभिन्न संस्था तथा निकायले पहिचान गरेका सट्टेबाजी तथा अवैध वित्तीय कारोबारसम्बन्धी वेबसाइटलाई इन्टरनेट सेवा प्रदायकसँगको सहकार्यमा बन्द गरिन्छ।

तर एउटा वेबसाइट बन्द गरेपछि अर्को नयाँ वेबसाइट खुल्ने चुनौती कायमै रहेको प्राधिकरणले जनाएको छ। त्यसैले नयाँ खुल्दै जाने वेबसाइटको पहिचान गरी निरन्तर बन्द गर्दै जानुपर्ने अवस्था रहेको महतोले बताए।

त्यस्ता वेबसाइट पहिचान गर्न ‘खतरा सूचना उपकरण’ प्रयोग गरी खोजी तथा निगरानी गर्ने गरिएको छ। यसका लागि छुट्टै जनशक्तिको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

कसैलाई अवैध वेबसाइटबारे जानकारी भए प्राधिकरणको github.com/NTA-OPM मा जानकारी अद्यावधिक गर्न सकिने जनाएको छ।


Read Previous

सुत्केरी बिदा ९८ दिनबाट ६ महिनासम्म पुर्‍याउने प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar