Nepal Purbadhar

बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट पुर्‍याइने, हेलिकप्टरबाट सामान ढुवानी


काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुराको पर्यटकीय क्षेत्र बडीमालिकामा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्न निर्देशन दिएका छन्।

बडीमालिका क्षेत्रमा टेलिफोन सेवा नहुँदा स्थानीय तथा पर्यटकले समस्या भोगिरहेको विषयमा गम्भीर चासो व्यक्त गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले नेपाल टेलिकमलाई तत्काल सेवा सञ्चालनका लागि आवश्यक काम अघि बढाउन निर्देशन दिएका हुन्।

सडक सञ्जालबाट उपकरण तथा निर्माण सामग्री ढुवानी गर्न कठिन रहेको अवस्थामा हेलिकप्टरमार्फत सामान ढुवानीको व्यवस्था गर्न उनले निर्देशन दिएका छन्।

मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल टेलिकमले साउनभित्रै बडीमालिकामा टेलिफोन सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ। टेलिफोन टावर निर्माणका लागि आवश्यक सामग्री कैलालीको धनगढीसम्म ढुवानी भइसकेको र नेपाली सेनाको हेलिकप्टर उपलब्ध भएमा काम छिटो सम्पन्न गर्न सकिने टेलिकमले जनाएको छ।

देशका विभिन्न स्थानमा दूरसञ्चार मोबाइल टावर निर्माण तथा सेवा विस्तारका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समेत निरन्तर समन्वय भइरहेको छ।

बडीमालिकालगायत पर्यटकीय तथा दुर्गम क्षेत्रमा जतिसक्दो चाँडो टेलिफोन र इन्टरनेट सेवा विस्तार गर्ने विषयमा सञ्चारमन्त्री तिमिल्सिनाले शुक्रबार प्रधानमन्त्रीका सूचना, सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग पनि छलफल गरेका छन्।

मिश्रसँगको छलफलमा अनलाइन सट्टेबाजी (बेटिङ) एप बन्द गर्ने तथा अनलाइन ठगी नियन्त्रण गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

यसैगरी, सञ्चारमन्त्री तिमिल्सिनाले शुक्रबार नै बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग त्यहाँ आवश्यक सञ्चार तथा अन्य पूर्वाधारबारे छलफल गरेका छन्। उनले बडीमालिका क्षेत्रमा आवश्यक पर्ने पूर्वाधार र सडक सञ्जालको अवस्थाबारे समेत जानकारी लिएका छन्।

नेपालका दुर्गम भूगोलमा इन्टरनेट सेवा विस्तार गर्ने सरकारको प्रतिबद्धताअनुसार नेपाल टेलिकमले सेवा विस्तारको काम अघि बढाइरहेको छ। बाजुराको बडीमालिका मन्दिर क्षेत्र, करिब ४ हजार २०० मिटर उचाइमा, तत्काल ४जी सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको टेलिकमले जनाएको छ।

त्यस्तै, सगरमाथा आधार शिविर क्षेत्रमा समेत ४जी सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको छ।

दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्ने योजनाअनुसार केही दिनअघि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब ३ हजार ९०० मिटर उचाइमा सफलतापूर्वक ४जी सेवा सञ्चालनमा आएको छ।

त्यसैगरी, ताप्लेजुङको ओलाङचुङगोलामा करिब ३ हजार ४०० मिटर उचाइमा ४जी सेवा शुरू भइसकेको छ।

देशका अन्य दुर्गम स्थानमा समेत टेलिफोन तथा इन्टरनेट सेवा विस्तारलाई सरकारले प्राथमिकतामा राखेको छ। डिजिटल विभाजन घटाउँदै सबै नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउने लक्ष्यअनुसार सञ्चार मन्त्रालयले काम अघि बढाएको हो।

देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप करिब १ हजार ६ सय नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार निर्माणको प्रक्रिया अघि बढिसकेको जनाइएको छ।

ग्रामीण क्षेत्रमा सेवा विस्तार तथा गुणस्तर सुधारका लागि नेपाल टेलिकमले आगामी आर्थिक वर्षमा मात्रै करिब ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने तयारी गरेको छ।


Read Previous

अर्थ मन्त्रालयको छलफल, बजेटमा भएका ८ सुधार कार्यक्रम कार्यान्वयनमा उद्योगमन्त्रीको जोड

Read Next

गत भादौ २३-२४ को घटनाका ७ शव अझै पहिचानविहीन, ओली-लेखकसहित ३४९ जनाविरुद्ध २४८ मुद्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar