
गोरखा । गोरखाको धार्चे गाउँपालिका-५ मा १६ मेगावाट क्षमताको माछाखोला जलविद्युत् आयोजना निर्माण शुरू भएको छ। करिब तीन अर्ब रुपैयाँ लागतमा वाटर इनर्जी डेभलपमेन्ट प्रालिले आयोजना निर्माण अघि बढाएको हो।
आयोजनाको निर्माण कार्य केही दिनअघि शुरू गरिएको र हाल शुरूङ खन्ने काम तीव्र गतिमा भइरहेको आयोजनाका संस्थापक पुष्पराज आचार्यले जानकारी दिए। उनका अनुसार हालसम्म करिब ७० मिटर शुरूङ खनिसकिएको छ भने आगामी ३० महिनाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आचार्यका अनुसार आयोजनाको वित्तीय व्यवस्थापनका लागि कृषि विकास बैंकको नेतृत्वमा तीन वटा बैंकले लगानी गर्नेछन्। आयोजनाको बाँध रेसे फाँट क्षेत्रमा निर्माण भइरहेको छ। त्यहाँबाट करिब तीन किलोमिटर लामो शुरूङमार्फत माछाखोला बजार नजिक निर्माण हुने विद्युत्गृहमा पानी पुर्याई विद्युत् उत्पादन गरिनेछ।
उत्पादित विद्युत् २२ किलोमिटर दूरीमा रहेको धादिङको बोराङ सबस्टेसनमा पुर्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिने योजना छ।
आयोजना निर्माणका लागि कम्पनीले विभिन्न व्यक्तिको स्वामित्वमा रहेका करिब १३ रोपनी जग्गा खरिद गरिसकेको जनाएको छ। साथै केही सरकारी जग्गाको सट्टाभर्ना सम्बन्धी प्रक्रिया पनि अघि बढिरहेको संस्थापक आचार्यले बताए।
