Nepal Purbadhar

सुकुम्बासी बस्ती हटेपछि खुला देखिए नदी किनार र सार्वजनिक जग्गा- तस्बीरमा हेर्नुहोस्


काठमाडौं। काठमाडौं उपत्यकाका थापाथली, मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजु लगायतका क्षेत्रमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाइएपछि ती स्थानहरू खुला र खाली देखिन थालेका छन्।

सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको नदी किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत उपत्यकाभित्रका अधिकांश अव्यवस्थित बस्ती हटाउने काम सम्पन्न भएको छ। यस क्रममा मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजु लगायतका क्षेत्रबाट बस्ती हटाइएको हो।

वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक प्रयोजनका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूपमा उल्लेखनीय परिवर्तन आएको छ। बागमती तथा यसका सहायक नदीहरूको संरक्षण, वातावरणीय सुधार र व्यवस्थित शहरी विकासलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूले खाली गरिएका स्थानको संरक्षण र व्यवस्थापनका काम अघि बढाएका छन्।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा नदी किनार व्यवस्थापन, हरियाली प्रवर्द्धन तथा पुनः अतिक्रमण रोक्न आवश्यक संरचना निर्माण र निगरानीलाई तीव्रता दिएका छन्।

खाली गरिएका क्षेत्रको दीर्घकालीन संरक्षणका लागि तारबार, वृक्षारोपण, पैदलमार्ग निर्माण, सौन्दर्यीकरण तथा नियमित अनुगमनका कार्यक्रम सञ्चालन भइरहेका छन्। साथै पुनः अवैध बसोबास हुन नदिन सुरक्षा तथा निगरानी व्यवस्थासमेत कडा पारिएको जनाइएको छ।

सरकारी निकायहरूले नदी प्रणालीको संरक्षण, वातावरणीय सन्तुलन कायम गर्ने तथा सार्वजनिक सम्पत्तिको उचित उपयोग सुनिश्चित गर्ने उद्देश्यका साथ अभियानलाई निरन्तरता दिने बताएका छन्। खाली गरिएका क्षेत्रलाई सार्वजनिक उपयोगमा ल्याई उपत्यकाको वातावरण र सौन्दर्य सुधार गर्ने लक्ष्यसहित काम भइरहेको जनाइएको छ।

तस्बीर सबै: फोटो लाईब्ररी


Read Previous

विद्युत नियमन आयोगको अध्यक्ष पदको सर्टलिस्टमा ७ जना, असार ६ गते अन्तर्वार्ता हुने

Read Next

रोजगार कार्यक्रममार्फत स्थानीयलाई रोजगारी दिंदै पौवादुङमा गाउँपालिका, सडक स्तरोन्नतिमा दिन्छ काम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar