
फाईल तस्बीर।
मुस्ताङ। मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका बिवाइडी (बीवाइडी) कम्पनीका चाइनिज विद्युतीय सवारी साधन फुकुवा गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म जोमसोमका अनुसार आइतबार साँझदेखि नियन्त्रणमा लिइएका सबै सवारी साधन सम्बन्धित पक्षलाई जिम्मा लगाइएको हो।
कोरलानाका हुँदै गत जेठको दोस्रो र तेस्रो सातामा नेपाल भित्रिएका ७७५ विद्युतीय सवारी साधनमध्ये ६४९ युनिट भन्सार जाँचपास भइसकेका थिए। तर पैठारी प्रक्रियामा कैफियत हुन सक्ने आशंकामा सशस्त्र प्रहरीले ती सवारी साधनलाई अस्थायी रूपमा नियन्त्रणमा लिएको थियो।
ती सबै सवारी साधन साइमन ईंकले आयात गरी नेपाल भित्र्याएको बताइएको छ। पछि अर्थ मन्त्रालयले भन्सार विभागअन्तर्गतको मूल्याङ्कन शाखा प्रमुख निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले कास्की, पर्वत, जोमसोम र कोरलानाकामा स्थलगत अनुगमन गरी प्रारम्भिक अनुसन्धान गरेको थियो।
प्रारम्भिक प्रतिवेदनअनुसार कोरलानाकाबाट भित्रिएका विद्युतीय सवारी साधनमा कुनै कैफियत फेला नपरेको निष्कर्ष निकालिएको जनाइएको छ।
यसअघि सशस्त्र प्रहरीले कास्कीको हेमजामा ९८, पर्वतको कुश्मामा १७ तथा मुस्ताङको जोमसोम र कोरलानाकामा गरी थप ६६० भन्दा बढी विद्युतीय सवारी साधन नियन्त्रणमा लिएको थियो।
सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीका अनुसार केन्द्रीय निर्देशनअनुसार नियन्त्रणमा रहेका सबै सवारी साधन फुकुवा गरिएको हो। फुकुवा भएसँगै ती सवारी साधन क्रमशः गन्तव्यतर्फ पठाइँदैछ।
जोमसोम बसपार्कमा राखिएका २६६ सवारी साधनमध्ये आइतबार र सोमबार गरी २२३ वटा गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्। बाँकी ४३ युनिट पनि क्रमशः पठाइने तयारी भइरहेको छ।
त्यस्तै, कोरलानाकामा रहेका भन्सार जाँचपास भएका सवारी साधन पनि गन्तव्यतर्फ लैजाने प्रक्रिया अघि बढाइएको छ। जाँचपास नभएका सवारी साधनको पनि आवश्यक भन्सार प्रक्रिया पूरा गरेर लैजान कुनै समस्या नरहेको सशस्त्र प्रहरीले जनाएको छ।
