
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि स्वीट्जरल्याण्डका महामहिम राजदूत ड्यानिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा दुई पक्षबीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन तथा नेपालको शिक्षा क्षेत्रमा स्विस सरकारको निरन्तर सहयोगबारे विस्तृत छलफल भएको हो।
स्वीट्जरल्याण्ड नेपालका लागि लामो समयदेखि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रमुख विकास साझेदार रहँदै आएको छ। विशेषगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। हाल स्विस सरकारको विकास सहयोग निकाय ‘स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी)’ को सहयोगमा सीटीईभीटीअन्तर्गत तीन प्रमुख परियोजना सञ्चालनमा रहेका छन्— ‘नेशनल भोकेशनल क्वालिफिकेसन सिस्टम’, ‘इन्ह्यान्स्ड स्किल फर सस्टेनेबल एन्ड रिवार्डिङ इम्प्लोइमेन्ट’ र ‘क्वालिटी टेक्निकल एन्ड भोकेशनल एजुकेशन एन्ड ट्रेनिङ फर युथ’।
भेटका क्रममा मन्त्री पोखरेलले नेपाल–स्वीट्जरल्याण्ड सम्बन्ध सधैं सौहार्दपूर्ण रहेको उल्लेख गर्दै शिक्षा तथा विकास क्षेत्रमा स्विस सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे। उनले सीटीईभीटीसम्बन्धी ऐन संशोधनको मस्यौदा तयार हुने चरणमा रहेको र प्राविधिक शिक्षालाई समयसापेक्ष बनाउन विज्ञहरूको राय–सुझाव लिइँदै संसदमा चाँडै पेस गर्ने तयारी भइरहेको जानकारी दिए।
मन्त्री पोखरेलले प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा स्विस सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरे। साथै उनले डिजिटलाइजेशन, समावेशी शिक्षा तथा प्रविधिमैत्री शिक्षण प्रणालीमा पनि सहकार्य विस्तार गर्न सकिने धारणा राखे।
उनले सातै प्रदेशमा विशेष अटिजम विद्यालय स्थापना गर्ने सरकारी योजनाबारे जानकारी दिँदै समावेशी शिक्षामा सहयोगको सम्भावना रहेको बताए। विद्यालय तहदेखि नै रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै काठमाडौं महानगरपालिकामा सञ्चालनमा रहेको ‘बुकफ्री फ्राइडे’ कार्यक्रमलाई प्रभावकारी भन्दै देशभर विस्तार गर्ने योजना रहेको पनि उल्लेख गरे।
त्यस अवसरमा राजदूत ड्यानिएल मेउलीले नेपालमा शिक्षा क्षेत्रमा स्विस सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए। उनले नेपाल सरकारको शिक्षा सुधारका पहलप्रति समर्थन जनाउँदै आगामी दिनमा सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
उनले हाल सञ्चालनमा रहेका तीन परियोजनालाई एकीकृत गरी अझ प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको जानकारी गराए।
