Nepal Purbadhar

ऊर्जा मन्त्रालयको हटलाइन मार्फत १३ हजार गुनासो समाधान


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा लिने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग भएमा त्यसको प्रमाणसहित हटलाइन नम्बर ११५१ मा तत्काल जानकारी दिन सेवाग्राहीलाई आग्रह गरेका छन् ।

मन्त्री श्रेष्ठले पदभार ग्रहणपछि गुनासोको सुनुवाइ र छिटो समाधानलाई मन्त्रालयको प्रमुख प्राथमिकतामा राखेको बताए । उनको निर्देशनअनुसार मन्त्रालय र मातहतका निकायमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने प्रयास तीव्र पारिएको छ ।

यसक्रममा विद्युत् सेवासम्बन्धी गुनासो तथा समस्याको समाधानका लागि सञ्चालनमा रहेको हटलाइन नम्बर ११५१ लाई थप सक्रिय र प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले कार्यभार सम्हालेको चैत १३ गतेयता उक्त हटलाइनमार्फत १३ हजार ८८ वटा गुनासो सम्बोधन गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्राप्त गुनासोमध्ये विद्युत् अवरोध (नो लाइट), ट्रान्सफर्मर बिग्रिनु, पोल तथा मिटर अभाव, भूमिगत विद्युत् जडानलगायतका समस्या बढी रहेका छन् । यस्ता समस्या समाधानलाई तीव्र बनाउँदै सेवाग्राहीलाई सहज रूपमा सेवा दिने वातावरण निर्माणमा मन्त्रालय केन्द्रित रहेको बताइएको छ ।

त्यस्तै, संघीय संसद् र प्रदेश सभाका सदस्यहरूले संसद्को शून्य तथा विशेष समयमा उठाउने ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रसँग सम्बन्धित गुनासोलाई पनि तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

यसैगरी सुशासन र सेवा प्रवाह सुधारका लागि मन्त्रालयले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार ‘सुशासन एकाइ’ गठन गरी सञ्चालनमा ल्याएको छ । उक्त एकाइलाई क्षेत्रगत जिम्मेवारी दिँदै अनुगमन, मूल्यांकन तथा कार्यसम्पादन परीक्षण प्रणाली व्यवस्थित गरिएको छ ।

एकाइले मन्त्रालय तथा मातहत निकायका कर्मचारीको कार्यसम्पादन, जिम्मेवारी निर्वाहको अवस्था, कानुनी समयसीमाको पालना र सेवा प्रवाहको प्रभावकारिताबारे नियमित समीक्षा गर्दै आएको छ । साथै सरकारी स्रोत–साधनको उपयोग, निर्धारित सूचकको कार्यान्वयन र समयमै काम सम्पन्न भए–नभएको विषयमा पनि निरन्तर निगरानी भइरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ‘डेलिभरीमा आधारित शासन प्रणाली’लाई प्राथमिकतामा राख्दै सेवा प्रवाह सुधार, गुनासो व्यवस्थापन र कर्मचारीको उत्तरदायित्व अभिवृद्धिमा जोड दिएको छ ।


Read Previous

स्वीट्जरल्याण्डका राजदूतले भेटे शिक्षामन्त्री, विकास सहायता परिचालन बारे छलफल

Read Next

नेप्से १२.२६ अंकले घट्यो, कारोबार ४.४१ अर्बमा सीमित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar