
काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले जेठ २८ गतेदेखि ७ लाख ५ हजार ५ सय कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गरेको हो।
उक्त आईपीओमा इच्छुक लगानीकर्ताले असार २ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।
शेयर बिक्री तथा निष्काशन व्यवस्थापनको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटलले सम्हालेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख २ गते आईपीओ जारी गर्न स्वीकृति प्रदान गरेको थियो। सो स्वीकृतिपछि कम्पनीले सर्वसाधारणमा शेयर बिक्री प्रक्रिया अघि बढाएको हो।
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले विभिन्न प्रकारका प्राइमर तथा रङ उत्पादन गरी बजारमा बिक्री–वितरण गर्दै आएको छ। कम्पनीको नेतृत्व अध्यक्ष शिव सिंह कार्कीले गरिरहेका छन्। कम्पनीको सञ्चालक समितिमा लक्ष्मीदत्त पाण्डेय, नवीन प्रसाद भट्ट र कमलेश पाण्डेय सदस्यका रूपमा रहेका छन्।

