
काठमाडौं|। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशव्यापी संगठन निर्माण अभियानलाई तीव्रता दिँदै आज २८ जिल्लामा पहिलो जिल्ला अधिवेशन आयोजना गर्दैछ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिनेछ।
आयोगका प्रमुख भुवन केसीका अनुसार उदयपुर, सोलुखुम्बू, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम पश्चिम, मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुँदैछ। निर्वाचन प्रक्रिया निष्पक्ष बनाउन प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको छ।
यसअघि शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, कास्की, पर्वत, म्याग्दी, बाँके, बर्दिया, दार्चुलालगायत जिल्लामा नयाँ नेतृत्व चयन भएको छ। पार्टीले पहिलो राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको छ भने बाँकी १० जिल्लाको अधिवेशन महाधिवेशनपछि गरिने जनाएको छ। विशेष परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन जेठ २६ गतेका लागि तय गरिएको छ।
जिल्लामा नयाँ नेतृत्व, को कहाँ?
शनिबार सम्पन्न अधिवेशनबाट काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन्। उनले २५१ मत प्राप्त गर्दै प्रतिस्पर्धी सुरेश सापकोटालाई पराजित गरे। उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा सन्तमान महर्जन र सहसचिवमा सौरभ बस्नेत निर्वाचित भएका छन्।
झापामा ओमनाथ भण्डारी जिल्ला सभापतिमा निर्वाचित भए। उनले ३४१ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पारे। उपसभापतिमा पुष्पलाल ढकाल, सचिवमा विरोध सुवेदी र सहसचिवमा भीमबहादुर कुँवर निर्वाचित भएका छन्।
सुनसरीमा सागर दाहाल १४२ मतसहित सभापतिमा निर्वाचित भए। उपसभापतिमा राजेशमान श्रेष्ठ, सचिवमा राजारामकुमार मेहता र सहसचिवमा योगेन्द्र गिरी चयन भएका छन्।
काभ्रेपलाञ्चोकमा प्रवीणकुमार ढकाल पुनः जिल्ला सभापतिमा निर्वाचित भएका छन्। सचिव पदमा भने निर्वाचन भएको थियो, जसमा गुणनिधि सापकोटा विजयी भए। अन्य अधिकांश पदाधिकारी सर्वसम्मत चयन भएका छन्।
भक्तपुरमा रामेश्वर बस्नेत सभापतिमा निर्विरोध निर्वाचित भए। उपसभापतिमा स्मृति भट्टराई, सचिवमा सञ्जीव प्रजापति र सहसचिवमा रामकृष्ण देउजा चयन भएका छन्।
पर्वत, म्याग्दी र हुम्लामा सर्वसम्मत नेतृत्व
पर्वतको प्रथम जिल्ला अधिवेशनबाट जलबहादुर पुन सभापतिमा निर्वाचित भएका छन्। उपाध्यक्षमा शारदाकुमारी शर्मा, सचिवमा रामेश्वर गौतम र सहसचिवमा नारायणप्रसाद भुसाल चयन भएका छन्।
म्याग्दीमा युवराज रोकाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ। उपसभापतिमा कल्पना खत्री, सचिवमा सुनिल शर्मा र कोषाध्यक्षमा हीराबहादुर बोगटी चयन भएका छन्।
हुम्लामा लक्ष्मण ऐडीको नेतृत्वमा नौ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत गठन गरिएको छ। उपसभापतिमा रिन्जेन लामा, सचिवमा मनोज बोहोरा, सहसचिवमा तीर्थराज बुढा तथा कोषाध्यक्षमा कमन शाही चयन भएका छन्।
राष्ट्रिय महाधिवेशन चितवनमा
रास्वपाले जेठ २६ गतेदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन सुरु गर्ने तयारी गरेको छ। प्रदेश अधिवेशन सञ्चालनका लागि पाँच सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरिएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने तय भएको छ।
पार्टीले जिल्ला अधिवेशनलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक तथा जनमतबाट अनुमोदित संगठनात्मक संरचनामा रूपान्तरण गर्ने महत्वपूर्ण चरणका रूपमा लिएको जनाएको छ। रास्वपाले आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सबै पक्षसँग सहयोगको आग्रह गरेको छ।
