Nepal Purbadhar

अमेरिका–इरान सम्झौता अन्तिम चरणमा, होर्मुज जलडमरू खोल्ने तयारी


काठमाडौं । अमेरिका र इरानबीच महिनौँदेखि जारी तनाव र युद्ध अन्त्य गर्ने सम्भावित सम्झौता अन्तिम चरणमा पुगेको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत अमेरिका, इरान र क्षेत्रीय शक्तिबीचको समझदारी “धेरै हदसम्म टुंगिसकेको” उल्लेख गर्दै छिट्टै औपचारिक घोषणा हुने बताएका हुन्।

यसैबीच, पाकिस्तानी प्रधानमन्त्री मुहम्मद शेहबाज सरिफले अमेरिका र इरानबीच अर्को चरणको वार्ता “छिट्टै” हुने बताएका छन्। शनिबार तेहरानमा इरानी नेताहरूसँग भएको वार्ता सकरात्मक रहेको पाकिस्तानले जनाएको छ।

प्रस्तावित सम्झौतामा विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलडमरू पुनः सञ्चालनमा ल्याउने, अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्य गर्ने तथा दीर्घकालीन शान्ति प्रक्रियाको ढाँचा तयार गर्ने विषय समावेश रहेको बताइएको छ।

ट्रम्पका अनुसार वार्तामा साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन र बहराइनलगायत देश संलग्न छन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि सकारात्मक छलफल भएको बताएका छन्।

रोयटर्सका अनुसार प्रस्तावित समझदारी चरणबद्ध रूपमा अघि बढ्नेछ। पहिलो चरणमा युद्ध अन्त्य, दोस्रो चरणमा होर्मुज जलडमरूमध्य संकट समाधान र त्यसपछि दीर्घकालीन शान्तिका लागि ३० दिने वार्ता प्रक्रिया शुरू गर्ने तयारी रहेको बताइएको छ।

तर अमेरिकी पक्षको आशावादी भनाइका बीच इरानले भने अझै धेरै विषयमा मतभेद कायम रहेको जनाएको छ। इरानी अधिकारीहरूले वार्ता जारी रहेको र केही प्रगति भएको स्वीकार गरे पनि आणविक कार्यक्रम तथा होर्मुज जलडमरूमध्यको नियन्त्रणबारे अन्तिम सहमति नभएको बताएका छन्।

इरानको अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार प्रस्तावित समझदारीमा युद्ध अन्त्य गर्ने रोडम्याप समावेश भए पनि आणविक कार्यक्रमसम्बन्धी वार्ताका लागि थप ६० दिनको समय प्रस्ताव गरिएको छ। साथै इरानले आफ्नो केही ‘फ्रोजन एसेट’ फुकुवा गर्न र इरानी तेलमाथिका प्रतिबन्ध खुकुलो बनाउन माग गरेको बताइएको छ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले हालको प्रस्तावलाई “फ्रेमवर्क एग्रिमेन्ट” को संज्ञा दिएका छन्। उनका अनुसार प्रारम्भमा व्यापक सिद्धान्तमा सहमति गर्ने र त्यसपछि विस्तृत वार्ता अघि बढाइनेछ।

विश्लेषकहरूले भने सम्झौताका मुख्य विवादित विषय अझै बाँकी रहेको बताएका छन्। होर्मुज जलडमरूमध्यमाथिको नियन्त्रण, इरानको आणविक कार्यक्रम, आर्थिक प्रतिबन्ध र क्षेत्रीय सुरक्षा प्रमुख चुनौतीका रूपमा रहेका छन्।

मोहम्मद एलमास्रीका अनुसार हालको समझदारीले तत्काल शत्रुता अन्त्य र जलडमरूमध्य खुलाउने विषय मात्र समेटेको छ। “यदि अमेरिका वा इजरायलले चाहेको नतिजा प्राप्त नगरे सैन्य कारबाही फेरि हुन सक्ने सम्भावना अझै खुला छ,” उनले भने।

त्यस्तै, इरान विशेषज्ञ त्रिता पार् ले प्रतिबन्ध हट्ने र आणविक विवाद समाधान भएमा यो सम्झौता सन् २०१५ को आणविक सम्झौताभन्दा ठूलो हुन सक्ने बताएका छन्।

विश्लेषकहरूका अनुसार अन्तिम सहमतिमा इजरायलको भूमिका निर्णायक हुन सक्छ। तेहरान विश्वविद्यालयकी सहप्राध्यापक सेतारेह सादेकीले क्षेत्रीय रूपमा शान्तिको चाहना देखिए पनि दुवै पक्षले सैन्य विकल्प खुला राखेकाले स्थिति अझै संवेदनशील रहेको बताएकी छन्।


Read Previous

एसियन गेम्स छनोटका लागि नेपाली क्रिकेट टोली घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar