Nepal Purbadhar

सन् २०२७ को अन्त्यसम्म विश्वकप फाइनलका लागि प्रस्तावित रंगशाला निर्माण सक्ने मोरक्कोको लक्ष्य


बेन्स्लिमाने (मोरक्को)। मोरक्कोले सन् २०३० को फिफा विश्वकप फाइनल आयोजना गर्ने लक्ष्यसहित निर्माण भइरहेको प्रस्तावित रंगशाला आगामी वर्षको अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य राखेको त्यहाँका अधिकारीहरूले बताएका छन्।

कासाब्लान्का नजिक निर्माण भइरहेको १ लाख १५ हजार दर्शक अट्ने उक्त रंगशालाले सह-आयोजक स्पेनका रंगशालाभन्दा सम्पन्न बनाउने योजना छ। सन् २०३० को विश्वकप मोरक्को, स्पेन र पोर्चुगलले संयुक्त रूपमा आयोजना गर्ने तय भइसके पनि फाइनल खेल कहाँ हुने भन्ने निर्णय भने फिफाले अझै गरिसकेको छैन।

निर्माण शुरू भएको नौ महिनामा रंगशालाको करिब ३० प्रतिशत काम सम्पन्न भइसकेको छ भने करिब ४० प्रतिशत दर्शकदीर्घा निर्माण भइसकेको राष्ट्रिय पूर्वाधार परियोजना हेर्ने निकायका निर्देशक यासिर सुसीले बताएका छन्।

“निर्धारित समयमै काम सक्न दिनरात तीन सिफ्टमा निर्माण कार्य भइरहेको छ,” उनले रायटर्ससँगको स्थलगत अवलोकनका क्रममा भने।

विश्वकै सबैभन्दा ठूलो फुटबल रंगशालाका रूपमा निर्माण हुन लागेको उक्त परियोजना र त्यससँग सम्बन्धित संरचनाको लागत करिब एक अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। रंगशालालाई कासाब्लान्का र रबातसँग नयाँ राजमार्ग तथा रेल स्टेशनमार्फत जोड्ने योजना पनि रहेको छ।

१५० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त परियोजना मोरक्कोका सूचीकरण भएका कम्पनी टीजीसीसी र एसजीटीएमले निर्माण गरिरहेका छन्। निर्माणस्थल कृषि भूमि र वन क्षेत्रको बीचमा रहेको छ।

रंगशालाको छाना मोरक्केली परम्परागत पालबाट प्रेरित ठूलो टेन्ट शैलीमा निर्माण गरिनेछ, जसबाट प्राकृतिक प्रकाश भित्र प्रवेश गर्न सक्ने बताइएको छ। साथै परिसरभित्र मोरक्कोका विभिन्न प्राकृतिक भू-दृश्य झल्काउने वनस्पति उद्यान पनि निर्माण गरिनेछ।

“फुटबल हेर्ने अनुभवलाई सहरी वातावरणभन्दा बाहिरको प्राकृतिक अनुभवमा रूपान्तरण गर्नु हाम्रो उद्देश्य हो,” परियोजनाका आर्किटेक्ट तारिक ओउलालुले भने।


Read Previous

२३ करोड ७७ लाख रुपैयाँ खानी ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

Read Next

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिंह पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar