Nepal Purbadhar

कृष्णभीरमा धमाधम बनाइँदै छ नयाँ बाटो, भदौभित्रै खुलाउने तयारी (तस्बिर)


धादिङ । भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले नदी किनारस्थित सडकको तल्लो भाग कटान गरेपछि पृथ्वी राजमार्ग १४ दिनदेखि अवरुद्ध छ । काठमाडौँ जोड्ने प्रमुख लाइफलाइन मानिने राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भदौ १४ मा त्रिशुलीले सडकको बेस नै कटान गरेपछि एक सय मिटर सडक भासिएको थियो ।

कृष्णभीरमा भासिएकै ठाउँभन्दा माथि नयाँ ट्रयाक खोल्ने र त्यसलाई सवारीको सहज आवतजावतका लागि तयार पार्ने काम यतिबेला धमाधम भइरहेको छ । पहाड काटेर २५० मिटर ट्रयाक दुवैतिर जोड्ने काम सकिइसकेको छ ।

ग्राभेल, रोलिङको काम आइतबारबाट सुरू गर्ने र ३–४ दिनमा (भदौ मसान्तभित्रै) सकेर यातायात सञ्चालनमा ल्याइने नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताइन् । ‘ग्राभल गर्न काटेकोजस्तो सजिलो हुँदैन । रोलिङ गरेर मिलाउनुपर्छ । लेयर–लेयरमा गर्नुपर्छ । एउटै लेयरमा गर्न सकिँदैन,’ उनले भनिन, ‘त्यसकारण ३–४ दिन लाग्न सक्छ । यो महिनाको अन्त्यबाट यातायात सञ्चालन गर्ने लक्ष्य छ ।’

त्रिशुलीले सडकको बेस नै कटान गरेर भासिएकाले नयाँ ट्रयाक खोल्नुपरेको उनले बताइन् । नयाँ खोलिएको ट्रयाकले आवतजावतमा दुःख नदिने उनको विश्वास छ । ‘कृष्णभीरमा पहिले बायो इन्जिनियरिङको प्रयोग गरेर कंक्रिट र विरुवालाई मिलाएर पहिरो रोकथाम गरिएको थियो । त्यो दीर्घकालीन रह्यो,’ अधिकारीले भनिन्, ‘अहिले हामीले नसोचेको बाढी आएर सडकको तलपट्टिको भाग काटिँदा माथि पनि भासियो । अहिले माथिपट्टिबाट सडक निर्माण गरेका छौँ । त्यति धेरै डिस्टर्ब नहोला भन्ने आशा राखौँ ।’

कृष्णभीरमा पहिरो खसेपछि अत्यावश्यक वस्तु ढुवानी प्रभावित छ । यही कारण बजारमा अहिले खाना पकाउने ग्यासको समस्या बल्झिएको छ । हेटौँडा हुँदै काठमाडौँ आउने सडकमा पनि सवारीको चाप बढेकाले काठमाडौँ आउजाउ गर्न असहज भइरहेको छ । कृष्णभीरमा खसेको पहिरोले काठमाडौँ, धादिङ हुँदै चितवन, तनहुँ, कास्की, पश्चिम नेपालका अन्य जिल्ला जाने र आउने सवारी साधन प्रभावित भएका छन् ।

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी


Read Previous

रसुवा बाढीले क्षति पुर्‍याएको महादेव फाँट–छबिसे सडक निर्माण तीव्र

Read Next

खुला पहुँचमा तालिका मिचे जरिवाना, ग्रिडलाई सहयोग गरे प्रोत्साहन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar