
काठमाडौं। काठमाडौं महानगरपालिका सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।
कामपा–६ मा सञ्चालित उक्त सहकारीले आज एक लाख ५० हजार रुपैयाँसम्म बचत गरेका ७० जना बचतकर्ता सदस्यलाई रकम फिर्ता गरेको महानगरको सहकारी विभागले जनाएको छ।
सहकारीले आगामी एक महिनाभित्र पाँच लाख रुपैयाँसम्म बचत गरेका सदस्यको रकमसमेत फिर्ता गर्ने योजना बनाएको छ। विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको जनाएको छ।
विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार बचत फिर्ता माग गर्ने सदस्यबाट मागदाबी सहितको निवेदन लिएर संस्थाका सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने प्रयास गरिन्छ।
उनका अनुसार संस्थाको सञ्चालक समितिको निर्णयअनुसार ऋणीलाई एसएमएस, रजिष्ट्री पत्र तथा सार्वजनिक सूचनामार्फत ऋण चुक्ता गर्न आग्रह गरिने गरिएको छ।
वडास्तरको मेलमिलापबाट समस्या समाधान नभए विभागले थप सहजीकरण गर्ने जनाएको छ। यसक्रममा संस्थाका सञ्चालक सम्पर्कमा आउन नमान्दा कारबाहीका लागि सिफारिस गरिने तथा ऋणीले ऋण नतिरे सम्बन्धित निकायमा कारबाहीका लागि पठाइने व्यवस्था रहेको विभागले जनाएको छ।
विभागका अनुसार यस प्रक्रियामार्फत एकमुष्ट वा किस्ताबन्दीमा बचत रकम र ऋण असुली हुँदै आएको छ। संस्था बन्द भएका अवस्थामा सम्पर्कविहीन सञ्चालक वा ऋणीलाई एसएमएस र पत्रमार्फत सूचना पठाएर आवश्यक कारबाही प्रक्रिया अघि बढाइने गरिएको छ।
