
काठमाडौं। पर्यटन मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा रिक्त पदका लागि चार हजार ३४८ जनाले आवेदन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार १७ वटा निकायका पदपूर्तिका लागि आह्वान गरिएको रोष्टर सूचीमा उक्त सङ्ख्यामा आवेदन परेको हो ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै आवेदन नेपाल पर्यटन बोर्डमा परेको छ । बोर्डका लागि ८५५ जनाले आवेदन दिएका छन् । त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणमा ५७८, पशुपति क्षेत्र विकास कोषमा ४७६, लुम्बिनी क्षेत्र विकास कोषमा ४६५ तथा नेपाल प्रज्ञा प्रतिष्ठानमा ४३८ जनाको आवेदन परेको छ ।
यसैगरी, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा १९६, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा १८६, ललितकला प्रज्ञा प्रतिष्ठानमा १६६, सांस्कृतिक संस्थानमा १५१ तथा नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानमा १४९ जनाले उम्मेदवारी दिएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा ४६ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ ।
बौद्धनाथ क्षेत्र विकास समिति, तारा गाउँ विकास समिति, पाटन सङ्ग्रहालयलगायत अन्य निकायमा पनि उल्लेख्य आवेदन परेको मन्त्रालयको भनाइ छ । प्राप्त आवेदनहरूको मूल्याङ्कन तथा छानबिन प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ ।
