
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले नेपाल विद्युत प्राधिकरण अन्तर्गत वितरण केन्द्र कञ्चनपुर, सप्तरीका प्रमुख महेन्द्र कुमार दासविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारका अनुसार दासले चार्जिङ स्टेशन सञ्चालनका लागि ट्रान्सफर्मर जडान गरी विद्युत लाइन छाडिदिने प्रयोजनमा सेवाग्राहीसँग घुस मागेका थिए । उजुरीपछि अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा दासले नियमानुसार प्रक्रिया पूरा भइसकेपछि पनि लाइन जोडिदिने नाममा सेवाग्राहीसँग रकमको बार्गेनिङ गरेको तथा पैसा नदिए लाइन काटिदिने धम्की दिएको खुलेको अख्तियारले जनाएको छ ।
अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत १ लाख ४० हजार रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवानाको मागदाबी सहित आज विशेष अदालत मा आरोपपत्र दायर गरेको हो ।
