

राजश्व अनुसन्धान विभागका महानिर्देशकले चोरी पैठारीबाट नेपालमा भित्रिएको आशङ्कामा एक लाख भन्दा बढी ‘भेप’ वा ‘विद्युतीय चुरोट’बारे केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताएका छन्।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र गएको बैशाखमा भेपको आयात, निर्यात, उत्पादन, बिक्री वितरण र प्रचार प्रसारमा प्रतिबन्ध लगाउन सरकारी निकायहरूलाई प्रतिबन्ध गरेको थियो।
त्यस्तो प्रतिबन्ध कार्यान्वयनका लागि वाणिज्य मन्त्रालयहुँदै राजपत्रमा सूचना प्रकाशित हुनुपर्ने कानुनी व्यवस्था रहेको छ।
भन्सार विभागका एक जना अधिकारीले हालैका महिनामा आफ्ना कार्यालयहरूबाट उल्लेख्य परिमाणमा भेपको जाँच पासहरू नभइरहेको बताए।
विज्ञापन
यस्तोमा अवैध ढङ्गले नेपाल भित्रिएको हुनसक्ने ठानिएका भेप काठमाण्डू उपत्यकासहित देशका विभिन्न ठाउँबाट बरामद भएका खबरहरू प्रकाशमा आएका थिए।
राजश्व अनुसन्धान विभाग के भन्छ?
राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेले आफूहरूले उक्त विषयमा अनुसन्धान गरिरहेको भन्दै अहिले नै विस्तृतमा भन्न सक्ने अवस्था नरहेको बताए।
उनले भने, “भन्सार प्रज्ञापनपत्रबाट आएको छैन भने त्यो चोरी पैठारी नै हुन्छ। त्यो हिसाबले हामी हेरिरहेका छौँ। मुस्ताङबाट १९ हजार वटा आएको हो। ९७ वटा कार्टुनमा थियो।”
अघिल्लो हप्तामात्रै विभाग र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले ललितपुरको महालक्ष्मीमा छापा हानेर ८६ हजार ४ सय भेप फेला पारेको थियो।
महानिर्देशक घिमिरेका अनुसार बाराको पथलैया र रुपन्देहीको बुटवलमा त्यसरी चोरी पैठारी गरिएको ठानिएको भेप फेला परेको छ जसबारे अनुसन्धान भइरहेको छ।
अधिकारीहरूले बरामद भएका भेपको मूल्यबारे केही बताइसकेका छैनन्। भेपका चार्ज गर्न मिल्ने सहितका विभिन्न प्रकारहरू हुने भएकाले अझै मूल्याङ्कन नभइसकेको अधिकारीहरू बताउँछन्।
तर कतिपय अवस्थामा एउटै भेपको ५ डलरदेखी १५ डलर मूल्यसम्म रहेको र आफूहरू अहिले प्रारम्भिक चरणको अनुसन्धानमा मात्रै रहेको अधिकारीहरूले बताएका छन्।
‘हुक्काको असर २०० खिल्ली चुरोट ताने बराबरको हुन्छ’
राजश्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको विषय भएको भन्दै यसबारे प्रहरीले केही प्रतिक्रिया दिएको छैन।
तर बीबीसीले सम्पर्क गरेका एक जना सुरक्षा अधिकारीले ललितपुरबाट अघिल्लो साता एउटा गोदामबाट बरामद भएका भेपहरू दुईवटा ट्रकमा तातोपानी नाका हुँदै नेपाल भित्रिएको आशङ्का गरिएको बताए।
सर्लाहीमा १४ सय थान भेप बरामद भएको सुरक्षा निकायहरू बताउँछन्। मुस्ताङमा पक्राउ परेको भेप कोरला नाका हुँदै नेपाल प्रवेश गरेको ठानिन्छ।
कतिपय अधिकारीहरूले यी विद्युतीय चुरोट खुल्ला सीमानाका कारण भारतमा पनि विक्री गर्न सकिने सम्भावना भएकाले चोरी पैठारी गरेर भित्र्याइएको हुनसक्ने अड्कल काटेका छन्।
भेप आयात निर्यातबारे भन्सार विभाग के भन्छ?
नेपालमा नै गएको बैशाखमा भेपको आयात निर्यातलाई प्रतिबन्धित गराउन स्वास्थ्य मन्त्रालय मातहतका निकायहरू सक्रिय भएका थिए।
त्यसबेला मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका सुर्तीजन्य पदार्थ नियन्त्रण शाखाका प्रमुखले भेपको आयात, निर्यात, उत्पादन, बिक्री वितरण र प्रचार प्रसारमा रोक लगाउन सम्बन्धित निकायलाई पत्राचार गरिएको बीबीसीलाई बताएका थिए।
सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका २०७१ को दफा २८ मा यस्ता पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने व्यवस्था छ।
उक्त दफाको उपदफा ३ मा कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिक यातायतमा उपभोग र सञ्चारमाध्यमबाट प्रवर्द्धन गर्न नपाइने व्यवस्था गरेको छ।
उक्त निकायले गरेको परिपत्रका बारेमा आफूहरू अवगत रहेको भन्सार विभागका अधिकारीहरूले बीबीसीलाई बताएका छन्।
भन्सार विभागका निर्देशक मुक्ति प्रसाद श्रेष्ठ भन्छन्, “व्यापार सम्बन्धी कुरा वाणिज्य मन्त्रालयले मात्रै गर्नुपर्छ। अरू निकायले गर्ने हो भने वाणिज्यलाई सिफारिस गरेर त्यहाँबाट निर्णय भएपछि मात्रै कानुनी रूपमा बन्द हुन्छ। कि त राजपत्रमा प्रकाशित हुनुपर्छ।”
स्वास्थ्य मन्त्रालयले पत्राचार गरेको भएपनि त्यसलाई कानुनी रूपमा प्रतिबन्ध भए या नभएको भन्ने विषय अझै छलफलमा नै रहेको उनले सुनाए।
उनले थपे, “अहिले हाम्रा साथीहरूले जाँचपास गरिरहनु भएको छैन्। तर कानुनी रूपमा कसैले त्यसलाई चुनौती दियो भने कानुनी रूपमा प्रतिबन्ध भएको मान्न सकिन्न भन्ने अवस्था छ।”
केही महिना यता नेपालमा भेपहरूको जाँच पास नभइरहेको उनले सुनाए।
भन्सार विभागकै तथ्याङ्क हेर्दा यो वर्ष मलेसियाबाट ११९ केजी भेप भित्रिएको देखिन्छ। अघिल्लो वर्ष चीनबाट १९९ केजी र मलेसियाबाट ८२ केजी भेप नेपाल भित्रिएको विभागको आँकडाले देखाउँछ।
भन्सार विभागका अनुसार मूल्य अभिवृद्धि कर, अन्त शुल्क र महसुल दरसहित गरेर भेपमा १२१.४८ प्रतिशत कर बुझाउनुपर्ने प्रावधान रहेको छ।
वाणिज्य मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारीसँग भेप आयातमा प्रतिबन्ध लगाउन गरिएको सिफारिसबारे सोध्दा उनले स्वास्थ्य मन्त्रालयले गरेको भनेको परिपत्र जानकारीमा नरहेको बताए।
उनी भन्छन्, “सम्बन्धित मन्त्रालयले यो वस्तुको आयात अथवा निर्यात यो कारणले रोकिदिनुपर्यो भनेर हामीलाई पठाउनुभयो भने हाम्रो निकासी पैठारी नियन्त्रण ऐन अन्तर्गत राजपत्रमा सूचना जारी गरेर रोक्ने वा परिमाणात्मक बन्देज लगाउने गर्छौँ। मेरो जानकारीमा त्यस्तो भएजस्तो लाग्दैन।”
भेप के हो?
भेप धूमपानको तलतल मेट्ने विद्युतीय उपकरण हो। विद्युतीय चुरोटहरू मुख्य गरी इलेक्ट्रोनिक निकोटिन वितरण प्रणाली र इलेक्ट्रोनिक गैर-निकोटिन वितरण प्रणाली गरी दुई प्रकारका प्रचलनमा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।
यस्ता उपकरणहरूले त्यहाँभित्र राखिने तरल फ्लेभरलाई तताएर एरसलहरू उत्पन्न गराउँछन् र त्यसबाट आउने धुवाँलाई धूमपानको रूपमा लिइन्छ। यस्ता तरल पदार्थहरूमा पनि सामान्य चुरोटमा जस्तो निकोटिन हुने गर्छ तर निकोटिन नभएका तरल पदार्थहरू पनि पाइन्छन्। तर यसमा सुर्तीको प्रयोग भने हुँदैन।
भेपमा स्वादका लागि प्रयोग हुने रसायनहरू मानिसहरूको स्वास्थ्यको लागि हानिकारक हुने विश्व स्वास्थ्य सङ्गठनले उल्लेख गरेको छ। “यी उत्पादनहरूलाई खुला बजारमा अनुमति दिइएको र युवाहरूमाझ आक्रामक प्रचारप्रसार गरिएकोमा” विश्व स्वास्थ्य सङ्गठनले आफ्नो वेबसाइटमा चिन्ता व्यक्त गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल ८८ देशहरूमा ई-सिगरेटहरू किन्नका लागि न्यूनतम उमेरको मापदण्ड छैन र ७४ देशहरूमा यस्ता हानिकारक उत्पादनका लागि नियमहरू छैन।
“बालबालिका र युवाहरूमाझ ई-चुरोटको प्रयोगमा चिन्ताजनक वृद्धि भएको छ र धेरै देशहरूमा यस्तो सङ्ख्या वयस्कहरूको भन्दा धेरै छ,” विश्व स्वास्थ्य सङ्गठनले भनेको छ।